आफैले चलाएको ट्याक्टर दुर्घटनामा छोरो मरेको खवर पाएपछि गाईवस्तुलाई घाँसपात गर्दै आएकी रोल्पा, कोटगाउँ १ निवासी पुनी मगरका हातखुट्टा थरथर भए।
बोली पनि फुटेन, कलिलै उमेरमा छोरो गुमाउनुपर्दाको पीडा थाम्नै सकिनन् । एक्कासि भक्कानो फुटेर आयो । अनि डाँको छोडेर रुन थालिन्।
एकाएक पुनी रोएको आवाज सुनेर छिमेकी जम्मा भए । उनीहरु तत्कालै गाडी रिजर्भ गरी आमासहित आफन्तलाई लिएर दाङको तुलसीपुरतर्फ लागे।
राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर सल्यान सडकखण्डको राम्रीमा लु २ त २५५८ नम्बरको ट्याक्टर दुर्घटनाहुँदा रोल्पाका चालक रामचन्द्र घर्ती र जङकोटका सुनिल पुनको मृत्यु भएको खवरले शोकमा डुबेका आफन्तजन बिहीबार ३ बजे तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल आइपुगे।
शव हेर्ने वित्तिकै आफ्नै छोरा भएको भन्दै छाति पिटीपिटी पुनी मगर रुन थालिन्। कानुनी प्रक्रिया पूरा गरी दुवैको शव प्रहरीले आफन्तलाई जिम्मा लगायो।
उनीहरु शव लिएर दाहसंस्कारको लागि गए। शुक्रबार बिहान घर नजिकै पुग्ने क्रममा दाङबाट फोन आयो’रामचन्द्र जिउँदै अस्पताल आएका छन्’ यो सूचना आफन्तलाई सपनाजस्तो लाग्यो। उनीहरुले जलाउन लागेको शव लिएर पुन दाङ फर्किए।
बुधबार ट्याक्टर दुर्घटनामा घाइते भएका नजिकै रहेको राम्री भन्ने गाउँमा बसेको र होस् आएपछि अस्पतालमा आएको प्रहरीलाई बयान दिएका छन्। चालक भनिएको व्यक्ति सल्यानको श्रीनगरबाट चढेको बयान दिए।
सवारी मालिक र आमा दुबैले आफ्नो छोरो भनेपछि शव दिएको प्रहरीले जनाएको खबर राजधानी दैनिकले छापेको छ।