केन्यामा सरकारविरोधी प्रदर्शनः ३९ जनाको मृत्यु, ३६१ घाइते

नैरेबी, कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकारविरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ।

केन्या राष्ट्रिय मानवअधिकार आयोग (केएनसीएचआर)ले सोमवार मृतकको सङ्ख्या सार्वजनिक गरेको हो ।

केएनसीएचआरले ‘देशव्यापी विरोध प्रदर्शनमा’ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको जनाएको छ । यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण र्याली ​हिंसामा परिणत भएको थियो ।

राष्ट्रपति विलियम रुटोले आइतवार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गरे ।

‘केएनसीएचआरले प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारहरूको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्सजस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ,’ आयोगले भनेको छ, ‘प्रदर्शनकारीहरूविरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको थियो भन्ने हाम्रो धारणा छ ।’

आयोगले संसद् र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक कार्यको पनि कडा निन्दा गरेको छ ।

राष्ट्रपति रुटोले कर वृद्धिसम्बन्धी विधेयकमा कानूनमा हस्ताक्षर नगर्ने घोषणा गरेतापनि मङ्गलवारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन् ।

प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । रासस/एएनआई





Comments

comments

120737