सौर्य विमान दुर्घटना: १८ जनाको मृत्यु (यात्रुको सूचीसहित)

काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनामा १५ जनाको घटनास्थलमै मृत्यु र तीन जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

पाइलट मनिषरत्न शाक्यलाई जिवितै उद्दार गरि उपचारको लागि केएमसी अस्पताल पुर्याइएको छ। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।

विमानमा पाइलट मनिषरत्न शाक्य र को-पाइलट एस कटवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार थिए। उनीहरु सबैजना एयरलाइन्सका प्राविधिक कर्मचारी भएको बुझिएको छ। विमानमा १९ जना सवार थिए।

बुधबार बिहान ११:११ बजे काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो। प्राविधिकसहितको टोली लिएर विमान मर्मतका लागि पोखरातर्फ जान लागेको बेला विमान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

विमान उडानको क्रममा उड्नेबित्तिकै आगलागी हुँदा दाहिनेतिर मोडिएर रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको जनाइएको छ।

मृतक सबै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

विमान दुर्घटनाका प्रत्यक्षदर्शीहरूले विमानस्थल परिसर भित्रको कन्टेनरमा विमान बजारिएर दुई टुक्रा भएको र आगो लागेको बताएका छन्। जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए। जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उठेको र त्यसको केही क्षणमा आगो दन्किएको थियो।





Comments

comments

122898