पेरिसको सेन नदी किनारमा ३३औँ ग्रिष्मकालीन ओलम्पिकको भब्य उद्घाटन

काठमाडौँ, ३३ औँ ग्रिष्मकालिन पेरिस ओलम्पिकको उद्घाटन गरिएको छ। फ्रान्सको राजधानी पेरिसमा गएराति भब्य उद्घाटन समारोह भएको छ।

पेरिस ओलम्पिकको इतिहासमा पहिलो पटक उद्घाटन समारोह रङ्गशाला बाहिर नदी किनारमा भएको हो।

पेरिस ओलम्पिकमा सहभागी दुई सय देशका १० हजार पाँच सय भन्दा धेरै खेलाडी सेन नदीमा आयोजित परेडमा सवार भएका छन्। समारोहमा सेन नदी किनारमा हजारौँ दर्शक उपस्थित थिए। आतिशबाजीसहित चर्चित गायकहरुले प्रस्तुति दिएका छन्।

उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोकेका छन्। पेरिस ओलम्पिक यही साउन २७ गतेसम्म चल्नेछ। औपचारिक उद्घाटन अघि नै फुटबल, ह्यान्डबल, आर्चरीलगायतका खेल शुरु भइसकेका छन्।

पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। जसमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन्।





Comments

comments

123120