काठमाडौँ, काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ।
प्रसाईंलाई आइतबार दिउँसो उनको भक्तपुर स्थित निवासबाट गिरफ्तार गरिएको थियो।
काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको जानकारी दिएका छन्।
प्रसाईंका सात जना समर्थकहरू दुई जना झापाबाट र पाँच जना काठमाडौँबाट पक्राउ परेको प्रहरीले जनाकाएको छ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी गरिएको थियो। सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति तथा चरित्र हत्याको आरोप प्रसाईंमाथि थियो।
प्रसाईंले एक युट्युब अन्तर्वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलालाई लक्षित गरी ‘जापानमा वेश्यावृत्ति गरेकी महिला’ भन्ने आशयमा टिप्पणी गरेका थिए। यसैको आधारमा संग्रौलाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
संग्रौलालगायत अन्य पीडित महिलाहरूले साइबर ब्युरोमा दर्ता गरेका उजुरीमा आधारमा प्रसाईं पक्राउ परेको जनाइएको छ।