काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ। क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासँगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ।
कम्पनीले खेलको प्रचार-प्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।
प्रसारणसँगै प्रायोजनको व्यवस्थापन अब ब्रान्ड लजिकले नेपाल प्रिमियर लिगका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ। साथै, विभिन्न प्रायोजन अवसरहरूलाई समन्वय गर्दै लिगको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम गर्नेछ।
सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार-प्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिए। उनले भने, “क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो। मैले बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन पराउँथे, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु। नेपाल प्रिमियर लिगलाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्याउन सक्ने जिम्मेवारी पाउँदा मलाई गर्व लागेको छ।” उनले थपे, “नेपाल प्रिमियर लिग केवल एउटा लिग होइन, यो नेपाली क्रिकेटको भविष्य हो। म आशा गर्छु कि नेपाली खेलप्रेमीहरूले यसलाई मन पराउनु हुनेछ, र हामी सबै मिलेर यो लिगलाई अझै उच्च स्थानमा पुर्याउनेछौं।”
रचनात्मक काम गर्दै आएको ब्रान्ड लजिकले आफ्नो सिर्जनात्मकता, नवीन सोच र उत्कृष्ट कार्यान्वयन क्षमताका कारण विज्ञापन तथा मार्केटिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ।