नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा आयोजित दोहोरी साँझ भव्यताका साथ सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-

कोलोराडो, अमेरिका। नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा पहिलो पटक आयोजित दोहोरी साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कोलोराडोमा सक्रिय संस्था नेपाली घरको आयोजनामा चर्चित कलाकारहरु चन्द्र शर्मा र अमृता लुंगेली मगरको उपस्थितिमा लोक दोहोरी साँझ कार्यक्रम आयोजना भएको हो। कलाकारहरुलाई सुष्मिता विश्वास, यम पौडेल लगायत स्थानीय कलाकारहरुले साथ दिएका थिए।

जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकाको राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा नेपाली सांस्कृतिक केन्द्रका परिकल्पनाकारहरु नेपाली घरका संस्थापक अध्यक्ष स्वर्गीय नारायण श्रेष्ठ र सल्लाहकार विष्णुप्रसाद श्रेष्ठको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

नेपाली घरका अध्यक्ष बसन्त लम्सालले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउन तन, मन र धन दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। यसैगरी कार्यक्रममा लम्सालले मातृभूमि प्रति प्रेमभाव अर्पण गर्दै रचना गरी आफैले गाएका चर्चित गीत “सकिदैन देश भुल्न जतिटाढा भएपनि” भन्ने बोलको गीत गाएका थिए।

सोही कार्यक्रममा कोलोराडोमा सक्रिय सिस्टर ग्रुप दिदीबहिनी समूह कोलोराडोले गत तीज पर्वमा संचालित तीजको पूजा कार्यक्रममा सहभागी दिदीबहिनीहरुबाट पूजा सामग्री प्रयोग गरेबापत सहयोग स्वरूप संकलन गरिएको रकमको चेक संस्थाका कोषाध्यक्ष पुष्पा पौडेलले नेपाली घरका अध्यक्ष बसन्त लम्साललाई हस्तान्तरण गरेकी थिइन्। सोही अवसरमा संस्थाका अध्यक्ष धन पौडेलले सिस्टर ग्रुप दिदीबहिनी समूह दुई वर्षकोलागि मर्गेज ग्यारेन्टरमा जोडिएको घोषणा गर्दै सबैलाई यथासक्य सहयोग गरी यस महायज्ञमा जोडिन अनुरोध गरेकी थिइन्।

कार्यक्रमको दोस्रो चरणमा मनोरञ्जनका कार्यक्रमहरु अगाडि बढाइएको थियो। नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म आयोजित मनोरञ्जनात्मक कार्यक्रममा सुष्मिता विश्वास र प्रियंका श्रेष्ठले सुमधुर संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए। नेपाली घरका कल्चर तथा इभेन्ट अफिसर दिनेशकुमार कार्की, र अन्तर्राष्ट्रिय गान साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव किरण अधिकारीले कुशलतापूर्वक संचालन गरेको कार्यक्रममा अमृता लुंगेली मगर र चन्द्र शर्माले आफ्ना चर्चित गीतहरु गाएर सहभागीलाई नचाएका थिए। यसरी अगाडि बढेको कार्यक्रमको अन्तमा लोक दोहोरी शुरु भएको थियो। दोहोरीमा “झ्यालमा पर्दा छ”, “गोरखा मनकामना”, “चरी भए आउथे उडेर” लगायतका भाकामा गीत गाएर कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए।

सम्पन्न लोक दोहोरी साँझ कार्यक्रममा टिकट बिक्री र दाताहरुबाट प्राप्त स्पोन्सरबाट संकलित रकम संचालन खर्च कटाएर बाँकी रहेको सबै नेपाली घरको खातामा जम्मा हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन्। कलाकारहरुले कुनै पारिश्रमिक नलिने र कलाकारहरुलाई अन्य स्टेटबाट कोलोराडो सम्म आउने र जाने प्लेन टिकट शुल्क नेपाली घरका आई.टी. अफिसर सुरेश रेग्मीबाट सहयोग प्राप्त भएको अध्यक्ष लम्सालले बताएका छन्।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको पार्किङ लट, पर्खाल र बिजुलीका पोलहरुको निर्माण तथा मर्मत सम्भारका कामहरु धमाधम भइरहेको र यस काम सकिने बित्तिकै ठेकेदारलाई पैसा दिनुपर्ने भएकोले आर्थिक सहयोग संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको हो।





Comments

comments

126549