युन लोङ आक्रमण प्रकरण: गैर-चिनियाँ समूहको संलग्नता रहेको प्रहरीको भनाइ

तस्बिर: भाइरल भिडियोबाट लिइएको दृश्य (स्पष्टताका लागि सुधारिएको)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ (युन लोङ), २१ नोभेम्बर। हङकङको युन लोङ क्षेत्रमा आज (शनिबार) बिहान सबेरै एक निजी कारमाथि भएको हतियारसहितको आक्रमण प्रयासमा गैर-चिनियाँ (Non-ethnic Chinese) समूहको संलग्नता रहेको प्रारम्भिक जानकारी प्रहरीले प्राप्त गरेको छ।

घटनाको दृश्य नजिकैको अर्को गाडीको ड्यासक्याममा कैद भएपछि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

प्रहरीको अनुसन्धान र संलग्नता
हङकङ प्रहरीका अनुसार आज बिहान १:१५ बजे युन लोङको किक येङ रोड क्षेत्रमा ५ देखि ६ जना गैर-चिनियाँ पुरुषहरूको समूहले एउटा कारमाथि आक्रमण गरिरहेको खबर प्राप्त भएको थियो।

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगे पनि आक्रमणकारी र आक्रमणमा परेको कार दुवै फरार भइसकेका थिए। प्रहरीले हाल यस घटनालाई ‘शंकास्पद व्यक्ति फेला परेको’ श्रेणीमा दर्ता गरी नजिकैका सिसिटिभी फुटेज र भाइरल ड्यासक्याम भिडियोको मद्दतले आक्रमणकारीहरूको पहिचान र खोजी तीव्र पारेको जनाएको छ।

कसरी भएको थियो घटना?
प्रत्यक्षदर्शीको ड्यासक्याम फुटेजअनुसार बिहान करिब १:०० बजे किक येङ रोड बस टर्मिनल र फाइभ-अ-साइड फुटबल मैदान बाहिर एउटा सेतो निजी कार गुड्दै गर्दा सडकछेउको पार्कको अँध्यारो कुनाबाट करिब ५ जना पुरुष अचानक सडकमा निस्किएका थिए।

गल्फ स्टिक र कडा वस्तु बोकेका उनीहरूले दौडिँदै आएर कारमाथि प्रहार सुरु गरे। आक्रमणबाट बच्न कार चालकले गाडी बायाँ मोडेर भाग्ने प्रयास गरे तर हतारमा बाटो बिराएर नजिकै घुम्दै पुनः सोही स्थानमा आइपुगे। मौका छोपेर आक्रमणकारीहरूले फेरि कारलाई घेरेर गाडीको बडी तथा झ्यालमा इँटाले जोडले प्रहार गरेका थिए।

अन्ततः ज्यान जोगाउन चालक बस टर्मिनल क्षेत्रको विपरीत लेनबाट तीव्र गतिमा गाडी हुइँक्याउँदै फरार हुन सफल भए। कार भागेपछि आक्रमणकारीहरू पनि तितरबितर भएका थिए।

भिडियोमा घटना प्रत्यक्ष देखिरहेका ड्यासक्याम धनीले आत्तिँदै सँगै रहेकी महिलालाई “गाडीबाट बाहिर ननिस्कनू, तुरुन्तै ढोका लक गर्नू” भनेको आवाज स्पष्ट सुन्न सकिन्छ।

घटनामा कोही घाइते भए वा नभएको तथा आक्रमणको मुख्य कारण के थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





Comments

comments

142451