काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिएका छन्।
दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको बताउँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले त्यसको कारण पहिचान गरी समाधानमा केन्द्रित हुन बिहीबार टेलिकमलाई निर्देशन दिएका हुन् । नेटवर्कको गुणस्तरमा समस्या किन भइरहेको छ भन्ने स्पष्ट पहिचान गरी समाधान गर्नुपर्नेमा उनले जोड दिए।
सबै टावरले पूर्ण क्षमतामा काम गरिरहेका छन् वा छैनन् भन्ने विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले कुन टावरले कति ट्राफिक धान्न सक्छन् भन्ने स्पष्ट तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिए । टेलिकमको सेवा प्रभावकारी बनाउन आवश्यक बजेट व्यवस्थापन गर्न सरकार तयार रहेको स्पष्ट पार्दै उनले कुनै पनि बहानामा सेवाको गुणस्तर कमजोर हुने अवस्था स्वीकार्य नहुने बताए।
नेपाल टेलिकमको सेवा गुणस्तर सुधार गर्न, टावरको क्षमता बढाउन तथा आवश्यक पूर्वाधार विस्तार गर्न ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) को रकमसमेत उपयोग गरेर काम अघि बढाउनुपर्ने उनको भनाइ छ । देशका विभिन्न स्थानमा टावर भए पनि नेटवर्क नचल्ने वा कमजोर हुने गुनासो आइरहेको भन्दै मन्त्री तिमिल्सिनाले देशभरका टावरको अवस्थाबारे विस्तृत प्राविधिक अध्ययन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउनसमेत निर्देशन दिए।
टेलिकमको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘टेलिकमले सबैतिर गुणस्तर ठिक छ भनिरहेको छ, तर नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका छन् । तपाईँहरूको कमजोरी के हो, सुधारका उपाय शीघ्र खोज्नुहोस् ।’ उत्कृष्ट सेवा प्रवाह गर्न आवश्यक सुधारका काम तत्काल गर्नुपर्ने जरुरी रहेको उनले औँल्याए।
नयाँ टावर थप्दैमा सेवा गुणस्तर सुधार हुने सुनिश्चितता नहुने बताउँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले पूर्वाधार विस्तारसँगै विद्यमान टावरको क्षमता र सञ्चालन अवस्था पनि सुधार गर्नुपर्नेमा जोड दिए । विद्युत् आपूर्ति अवरुद्ध भएका बेला डाटा नचल्ने समस्या रहेको गुनासो मन्त्रालयमा आउने गरेको उल्लेख गर्दै उनले सेवा प्रदायकको वास्तविक अवस्था स्पष्ट पार्न निर्देशन दिए।
जवाफमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले सेवाको गुणस्तर सुधार गर्न टेलिकम प्रतिबद्ध रहेको बताइन् । पुराना टावरको स्तरोन्नति र नयाँ टावर थप्ने काममार्फत पहुँच तथा गुणस्तर सुधारका प्रयास भइरहेको उनको भनाइ छ । टावरहरूको सेवा गुणस्तर परीक्षण नियमित रूपमा भइरहेकोसमेत उनले जानकारी दिइन्।
यसैबीच नेपाल टेलिकमका देशभर पाँच हजार टावर रहेकामा बिहीबार करिब ५० वटाको सेवा प्रभावित भएको टेलिकमले जनाएको छ । सेवा गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि एक हजार ६०० नयाँ टावर थप गर्ने गरी बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइएको छ । गत वर्षमात्रै विभिन्न टावरमा दुई हजार ८०० नयाँ ब्याट्री थप गरिएको र विद्युत् आपूर्ति अवरुद्ध हुँदा सहरी क्षेत्रमा चारदेखि छ घण्टासम्म तथा दुर्गम क्षेत्रमा आठदेखि १० घण्टासम्म सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । यद्यपि विद्युत् आपूर्ति अवरुद्ध हुँदा नेटवर्कमा समस्या बढी हुने गरेको र त्यसबाट टावरको सेवा प्रभावित हुने गरेको टेलिकमको भनाइ छ।
छलफलमा प्रमुख सञ्चालन अधिकृत (सीओओ) प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए । सो अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले ब्याकबोन प्रसारण निर्देशनालयसँग टेलिकमको नेटवर्क विस्तारको पछिल्लो अवस्थाबारे पनि जानकारी लिएका थिए। रासस

