चितवन । चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको अभियानमा रहेका मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनमा विश्वकै प्रमुख गन्तव्य एवं केन्द्र बनाउनुपर्ने बताउछन्।
आफूले मुलुकमा वैदिक सनातन धर्मको संरक्षण र प्रवर्द्धन, नेपालका ऐतिहासिक, पौराणिक एवं पवित्र तीर्थस्थलहरुको पहिचान र प्रचार, गण्डकीसहित शालग्राम सभ्यताको संरक्षण र मुक्तिनाथको सेवाको प्रमुख उद्देश्य पनि यही रहेको उनको भनाइ छ।
पछिल्लो समय नेपाललाई वैदिक ज्ञान र दर्शनको विश्वको एक प्रमुख गन्तव्य बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्नेमा स्वामी कमलनयनाचार्यको जोड छ । नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्र मोक्ष दिव्यधाममा यही मङ्सिर १ देखि सुरु भएको अष्टाचल धनधाञ्यचल विराट महायज्ञ पनि यही बृहत् सङ्कल्पकै एक कडी हो।
सो महायज्ञका लागि मुक्तिनाथबाट सुरु भएको एकमहिने रथयात्रा गत कात्तिक ३० गते उक्त धाममा आइपुगेको थियो । त्यसै अवसरमा रासससँग कुराकानी गर्दै उनले भने, “नेपालमा अनेकौँ विश्वविद्यालय छन् । संस्कृत विश्वविद्यालय पनि छ । तर वैदिक ज्ञान, पूर्वीय दर्शन र वाङ्मयको संरक्षण, अनुसन्धान तथा अन्तरराष्ट्रिय अध्ययनका लागि विशिष्ट वैदिक विश्वविद्यालयको आवश्यकता छ । अबको मेरो नयाँ लक्ष्य भनौँ या सङ्कल्प यही हो।”
धार्मिक या सनातनी कार्य भनेको पूजा, पाठ र यज्ञमा मात्र सीमित नराखी यसमार्फत सामाजिक रूपान्तरण, शिक्षा र संस्कृतिको विकास एवं राष्ट्रिय समृद्धि निर्माण हुनुपर्ने स्वामी कमलनयनाचार्यको भनाइ छ । काठमाडौँ र भक्तपुर सङ्गमको पञ्चमहालक्ष्मी श्रीपीठ, बागलुङको पञ्चकोट सर्वसिद्धिधाम, मुक्तिनाथ जाने साधुसन्त तथा तीर्थयात्रीको सेवा तथा आश्रम, गौसेवा र अनेकौँ संस्कृत वेदविद्याश्रम, गजेन्द्रमोक्ष दिव्यधाम आदिको निर्माण उहाँको अभियानका पछिल्ला केही तीर्थस्थल र धार्मिक पर्यटकीय पूर्वाधार हुन्।
स्वामी कमलनयनाचार्यले अखण्ड ज्योति बाबा श्रीजी च्यारिटेबल ट्रष्ट र नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको अगुवाइमा धार्मिक तथा सामाजिक अभियान सञ्चालन गर्दै आएका छन् । यो पछिल्लो महायज्ञको महत्वपूर्ण उद्देश्य श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई स्तरोन्नति गर्दै वैदिक विश्वविद्यालय स्थापना गर्नु हो । साथै गजेन्द्रमोक्षको पौराणिक महिमा र नेपालको धार्मिक पहिचानलाई विश्वसमक्ष स्थापित गर्ने माध्यम पनि हो।
उनी भन्छन्, “हामीले हाम्रा धार्मिक, सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्नसके नेपाल विश्वकै महत्वपूर्ण आध्यात्मिक गन्तव्य बन्न सक्दछ। अहिले दुनियाँ शान्ति, पूर्वीय दर्शन र चिन्तनमा आकर्षित छ । यस कार्यको प्रमुख केन्द्र अथवा उत्कृष्ट गन्तव्य नेपाल नै बन्न सक्दछ र बनाउनुपर्छ।”
विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथ धामप्रतिको समर्पण स्वामी कमलनयनाचार्यको जीवनको महत्वपूर्ण पक्ष हो । उनले मुक्तिनाथ क्षेत्रको धार्मिक सेवा र तीर्थयात्रीको सुविधाका लागि करिब चार दशकदेखि काम गर्दै आएका छन् । त्यहाँ साधुसन्त, तीर्थयात्री र बिरामीको सेवामा विभिन्न सेवा परियोजना सञ्चालनमा छन्।
मुक्तिनाथको धार्मिक महिमा विश्वका प्रसिद्ध तीर्थस्थलभन्दा माथि रहेको भए पनि आफ्नै तीर्थस्थलको पर्याप्त प्रचार गर्न नसकिएको स्वामी कमलनयनाचार्यको गुनासो छ । मुक्तिनाथको धार्मिक महिमा देशभर फैलाउने उद्देश्यले नै मुक्तिनाथ रथयात्रा सुरु गरिएको थियो।
यस वर्ष गत कात्तिक ८ गते सुरु भएको रथयात्रा सम्पूर्ण देश दर्शन गरी ३० गते गजेन्द्रमोक्ष धाम पुगेको हो । उनले भने “यस रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित नरही राष्ट्रिय एकताको भावना जागृत गर्नु, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्नु र नेपालका गौरवशाली धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु हो।”
रथयात्रासँगै गण्डकीको जल, हरिद्वारमा सम्पन्न महायज्ञको कलश र धार्मिक प्रतीक ल्याइएको तथा यसले मुक्तिनाथ र गण्डकी क्षेत्रको धार्मिक महत्वको प्रचारमा सहयोग पुग्ने उनको अपेक्षा छ । स्वामी कमलनयनाचार्य गण्डकी नदी र शालग्रामको सम्बन्धलाई नेपालको विशिष्ट धार्मिक पहिचानका रूपमा व्याख्या गर्छन् । विश्वका लाखौँ मन्दिर र करोडौँ हिन्दू परिवारमा पूजा गरिने शालग्राम शिला गण्डकी नदीले नै जन्माउने भएकाले यसको संरक्षण र प्रचार नेपालको महत्वपूर्ण जिम्मेवारी भएको उनको भनाइ छ।
“जल हाम्रो सभ्यता, संस्कृति एवं जीवन हो । जल रहे हामी रहन्छौँ । यही सन्देश विश्वभर पुर्याउन पञ्चकोटमा विश्वशान्ति गण्डकी कलश निर्माणको अभियान थालिएको हो”, स्वामी कमलनयनाचार्यको भनाइ छ।
मुक्तिनाथ र त्रिवेणीधामजस्ता धार्मिकस्थललाई जोडेर पर्यटनको नयाँ सम्भावना विस्तार गर्न सकिने उनी बताउछन् । गजेन्द्रमोक्ष धाममा भारतबाट पनि दैनिक कैयौँ तीर्थयात्री आउने गरेको उल्लेख गर्दै नेपालका धार्मिकस्थललाई अन्तरराष्ट्रिय रुपमा चिनाउनुपर्नेमा जोड दिन्छन्।
स्वामी कमलनयनाचार्यले वैदिक सनातन साथै सर्वधर्म अनुयायीहरुलाई वैदिक दर्शनको मूल भावना विश्वकल्याण, दया, करुणा र मैत्री भएकाले त्यसैको प्रचारमा लाग्न आह्वान पनि गरे । ‘सर्वे भवन्तु सुखिनः, लोकाः समस्ताः सुखिनो भवन्तु’ अर्थात् सबै सुखी होऊन्, संसारका सबै प्राणी सुखी होऊन् भन्ने वैदिक मान्यतालाई उनले सनातन धर्मको मूल दर्शनका रूपमा लिन्छन्।
गजेन्द्रमोक्ष धाम सर्वधर्म सम्प्रदायको साझा तीर्थस्थल भएको स्वामी कमलनयनाचार्यको धारणा छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भावको महत्व औँल्याउँदै उहाँ धर्मका आधारमा विभाजित हुनुको सट्टा मानवताको मूल्यमा सबै जोडिनुपर्ने उनी बताउछन् । भोटेकोशी बाढीको क्षतिले आफूलाई गहिरो पीडा दिएको बताउँदै उहाँले प्राकृतिकलगायत विविध विपत्तिमा ज्यान गुमाएकाको आत्मशान्ति र सद्गतिको कामनासहित यस महायज्ञमा विशेष पितृमुक्ति अनुष्ठान गरिनेछ।
मङ्सिर महिनाभर सञ्चालन हुने यस महायज्ञमा वेद, पुराण, उपनिषद् तथा वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान र हवनका अतिरिक्त पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजन र विशेष धान्याञ्चल अनुष्ठान गरिने भएकाले सहभागी भएर पुण्य आर्जन गर्न उनको आग्रह छ।
उक्त महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर विश्वविद्यालय स्थापनाका अतिरिक्त हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण होस्, नेपालका तीर्थस्थलको प्रचार एवं नेपाल वैदिक ज्ञान तथा धार्मिक पर्यटनको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित होस् भन्ने स्वामी कमलनयनाचार्यको धारणा छ । यी कार्यका लागि सरकार र निजी क्षेत्रको सहयोग निकै महत्वपूर्ण हुने उनको भनाइ छ। रासस

