दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही गर्ने गृहमन्त्री सुधन गुरुङको चेतावनी

फाइल तस्बिर

एचकेनेपाल डट कम –
काठमाडौँ, ५ मंसिर । गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको पक्षपोषण गर्ने र नेताको चाकडीमा लाग्ने राष्ट्रसेवक कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले कर्मचारीको मुख्य दायित्व देश र जनताको सेवा गर्नु रहेको स्पष्ट पारेका हुन्।

राष्ट्रसेवक कर्मचारीले दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको भए तत्काल त्याग्न उनले आग्रह गरेका छन्।

आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कुनै सम्झौता नगरी कारबाही गरिने गृहमन्त्रीको भनाइ छ।

नेता र कर्मचारी दुवैको एउटै लक्ष्य देशप्रति समर्पित भएर नागरिकको सेवा गर्नु हुनुपर्नेमा उनले जोड दिएका छन्।

सरकारलाई कसैको चाकडी गर्ने नभई जनताको दुःख बुझ्ने र इमानदारिताका साथ आफ्नो कर्तव्य निभाउने कर्मचारी चाहिएको गृहमन्त्री गुरुङले उल्लेख गरेका छन्।





Comments

comments

142455