एचकेनेपाल डट कम –
काठमाडौँ, मंसिर ६, २०८३। नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा वास्तविक जेनजी युवाहरूकै कारण आफू र पत्नी आरजु राणा देउवा बाँच्न सफल भएको बताएका छन्।
शनिबार नेपाली कांग्रेस (देउवा पक्ष) ले गण्डकी प्रदेशमा आयोजना गरेको अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आन्दोलनका क्रममा आफूहरूमाथि योजनाबद्ध रूपमा ज्यान मार्ने प्रयास भएको दाबी गरे।
उनले जेनजीको नाम लिएर करिब ५० वर्ष उमेर पुगेका व्यक्तिहरू लाठा बोकेर बूढानीलकण्ठस्थित निवासमा आक्रमण गर्न आएको आरोप लगाए।
सम्बोधनका क्रममा देउवाले वास्तविक जेनजी युवाहरूको सहयोग र नेपाली सेनाको उद्धार तथा उपचारका कारण मात्र आफूहरूको ज्यान जोगिएको उल्लेख गरे।
उनले सो आन्दोलनको आडमा भएको आगजनी र आक्रमणलाई एक सुनियोजित षड्यन्त्रको संज्ञा दिएका छन्।
यसअघि कात्तिक २९ गते ललितपुरमा आयोजित एक कार्यक्रममा पनि देउवाले सोही घटनाका क्रममा आफ्नो निवाससँगै सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुर्ख्यौली घरमा भएको आगजनीलाई योजनाबद्ध षड्यन्त्र भएको बताएका थिए।

