मेडवेबासीले धुमधामले दशैं मनाए, गायक मिलन लामाले चर्चित गीतहरु गाएर नचाए

मेडवे केन्ट युके। अहिले दशैंको चहलपहल छ! हरेक ठाउँका नेपालीहरूले सामूहिक रूपमा शुक्रबार, शनिबार र आइतबार सकेसम्म बिदाको दिन पारेर दशैं पार्टी आयोजना गरिरहेका छन्। वर्ष दिनमा आउने चाड, गाउँघरको, देशको, आफन्तहरूको अनि बाल्यकालको याद दिलाउने चाड, सकेसम्म सबै भेला भएर मनाउने चलन छ विदेशमै भए पनि।

पहिला जस्तो टाढा टाढा धाएर दशैं मनाउनु पर्ने बाध्यता छैन युकेमा अचेल। जहाँतहीँ नेपाली बस्ती छ, नेपाली समूह छन् र सबै ठाउँमा नेपाली समुदायको आफ्नै सामुदायिक संस्था खुलेका छन्।

जातीय, क्षेत्रीय, पार्टीका भातृ संगठन लगायत युकेका विभिन्न ठाउँ र क्षेत्रहरूमा आ-आफ्नै सामुदायिक संगठनहरूले विशेष ठूला चाड र कार्यक्रम आयोजना गर्ने गर्दछन्।

५ अक्टोबर २०२४ शनिबार साँझ गोर्खा नेपाली समाज मेडवे (Gurkha Nepalese Community Medway GNCM) ले वेस्ट ब्रुक प्राइमरी स्कुल जिलिङ्घाममा यो २०८१ सालको बिजया दशमी/दशैंको उपलक्ष्यमा मेडवेबासीहरूको उल्लेख्य सहभागितामा भव्य रूपमा दशैं मनायो।

गायक मिलन लामा, स्थानीय कलाकारहरूको नृत्य सहितको सांगीतिक प्रस्तुति, प्रमुख अतिथि मेडवेका मेयर काउन्सिलर मेरियन नेस्तोरोभ, मेयरेस लिउबोभ नेस्तोरोभ, चाथाम र आयल्सफोर्डकी एमपी लाउरेन ईडवार्ड्स, रोचेस्टर र स्ट्रूडका एमपी ट्रीष्टान ओसबोर्न, मेडवे काउन्सिलका काउन्सिल लिडर काउन्सिलर भिन्स मापल, डिपुटी काउन्सिल लिडर काउन्सिलर टेरेसा मुर्रे, मेडवे काउन्सिलको क्याबिनेट सदस्य – सम्पदा, संस्कृति र काउन्सिलर आचरण समिति अध्यक्ष मेडवे 2023-2024 को मेयर निना गुरुङ र मेडीस्टोन नेपाली समाजका अध्यक्ष मोहन तामाङ लगायत अन्य लब्ध प्रतिष्ठित अतिथिहरूको सहभागितामा भव्य रूपमा दशैं कार्यक्रम सम्पन्न भयो।

गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङको नेतृत्वमा यो वर्षको दशैं कार्यक्रम अत्यन्तै रमाइलो गरी धेरै नेपालीहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई साथै उपस्थित अतिथिहरूलाई धन्यवाद दिँदै अध्यक्ष भबिन साम्पाङले बडा दशमी २०८१ को शुभकामना दिएका थिए। उपाध्यक्ष ज्ञानेन्द्र राईले उपस्थित पाहुना र अतिथिहरूलाई कार्यक्रममा स्वागत गर्नुभएको थियो। महासचिव हरित पोख्रेलद्वारा सञ्चालित कार्यक्रममा, अतिथि वक्ताहरू, काउन्सिल लिडर काउन्सिलर भिन्स मापल, एमपी लाउरेन ईडवार्ड्स र एमपी ट्रीष्टान ओसबोर्नले बधाई तथा शुभकामना सहित धन्यवाद मन्तव्य राख्नुभएको थियो। युकेमा नेपालको ठूलो र महत्वपूर्ण चाड दशैंको शुभकामना साट्न पाउनु गर्वको कुरा भएको बताउँदै उहाँहरूले खुशी व्यक्त गर्नुभएको थियो।

मेडवेमा रहेका युवा विद्यार्थीहरू जसले गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याएर जिसिएसई, ए लेबल र उच्च शिक्षा हासिल गरेका थिए ती जेहेन्दार विद्यार्थीहरूलाई प्रमुख अतिथि मेयर र एमपीहरूको हातबाट खादा सहित प्रमाणपत्र प्रदान गर्दै अझ राम्रो प्रगति गर्न प्रोत्साहन र शुभकामना दिने कार्य पनि भयो।

नेपालबाट आउनुभएका लोकप्रिय चर्चित लोकदोहोरी गायक मिलन लामाले आफ्नो चर्चित गीतहरू गाएर सबैलाई नचाउनु भयो। ईभा राई, सबिता पोख्रेल र अन्यको नृत्यले पनि दर्शकहरूको मन जितेको थियो। अन्य आकर्षणहरूमा राफल ड्र जसका निम्ति धेरैले पुरस्कार उपलब्ध गराएका थिए र धेरैले पुरस्कार पनि जिते।

बडादशैंको सांस्कृतिक, धार्मिक र सामाजिक महत्वका बारेमा विदेशी पाहुनाहरूलाई जानकारी दिने र दशैं सारा नेपालीहरूको सामूहिक चाडका रूपमा नेपालमा मनाउने चलन रहेको जानकारी दिँदै, नेपालीहरूले दशैंलाई परदेश गएका, टाढिएका परिवारहरू भेला भएर ठूलाका हातबाट टीका जमरा सहित आशीर्वाद र दक्षिणा लिने अनि सकेको जोहो गरेर मिठो मसिनो खाएर रमाइलो गर्ने चाड भएकाले खुशियालीको चाड भनेर दशैंलाई लिने गर्दछन्। खुशी वा सुखको पर्यायका रूपमा लिइने दशैंलाई सुख र सद्भावको चाडका रूपमा भव्य रूपमा मनाउने चलन छ तर दशैंलाई तडक भडक चाडका रूपमा मनाउनाले धेरैलाई समस्याको चाड पनि बन्ने गरेको विकृति भने नदेखिने होइन।

धार्मिक र पौराणिक सन्दर्भको कुरा गर्दा असत्य माथि सत्यको जितको रूपमा बडा दशमीलाई लिने गरिन्छ। आफ्नो इच्छा अनुसारको कसैले रातो कसैले सेतो टीका लगाएर दशैं मनाउने चलन छ।

आधुनिक समयमा कतिले दशैं बहिष्कार गर्ने र विरोध गर्ने कार्य पनि हुँदै आएको छ। विशेष गरेर धेरै मासु खपत हुने चाड भएकाले पशु अधिकारकर्मीहरूको विरोध मात्रै नभएर अहिले धार्मिक र जातीय विरोध पनि भइरहेको छ तर विदेशमा खासै ती विरोधका कुराले दशैंलाई असर पारेको देखिन्न।

वर्षदिनमा एकपटक सबै भेला भएर रमाउने र देश तथा बाल्यकालको सम्झना गराउने चाडलाई विदेशमा नेपाल सम्झाउने चाडका रूपमा बिस्तारै लिन थालिएको छ। देश बाहिर नेपाल चिनाउने चाडका रूपमा दशैं मुख्य चाड बनिरहेको देखिन्छ।

साँझ अबेरसम्म खानपान सहित मनोरञ्जन र नाचगान गर्दै यो वर्षको दशैं मेडवे बासीले धुमधामसँग मनाएर शुभकामना आदानप्रदान गरे। सम्पूर्णलाई बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना!

भूमिराज राई
मेडवे, केन्ट, युके





Comments

comments

126711