एनआरएनएद्वारा बाढी पीडितलाई सहयोग: दक्षिणकाली र सिस्नेरीमा १२० परिवारलाई राहत वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १२० परिवारलाई आइतबार राहत वितरण गरेको छ। संघले दक्षिणकालीका ५० परिवार र सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती र हाइजिन किट लगायतका आवश्यक सामग्रीहरू वितरण गरेको हो।

यसअघि संघले बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। सोही अनुरूप आज पहिलो चरणमा यी दुई स्थानमा राहत वितरण गरिएको हो। आगामी दिनमा काभ्रेको पनौती नगरपालिका र ललितपुरको ठोस्नेखोलामा पनि राहत वितरण गर्ने योजना रहेको छ। साथै, तराईका विभिन्न जिल्लामा राहत वितरणको तयारी भइरहेको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी दिइएको छ।

राहत वितरण कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा उपाध्यक्षद्वय रोजिना प्रधान राई र रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, पूर्व महासचिव रतन झा, सल्लाहकार अतुल कोइराला, पूर्व डिआरसी धर्मराज गिरी, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल क्षेत्री, सीता खतिवडा, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायत थिए।





Comments

comments

126721