काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा लुम्बिनी लायन्स सबैभन्दा बढी रकम खर्च गर्ने क्लब बनेको छ। काठमाडौंको होटल सोल्टीमा आयोजित अक्सनमा लुम्बिनी लायन्सले कुल ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल लुम्बिनी लायन्सको मार्की खेलाडी रहेका छन्। यसका साथै विवेक यादव, सन्दीप जोरा, अर्जुन साउद र सूर्य तामाङ जस्ता प्रसिद्ध खेलाडीहरू पनि टिममा समावेश भएका छन्।
लुम्बिनी लायन्सले विवेक यादव, सन्दीप जोरा र सूर्य तामाङलाई प्रत्येकलाई १५-१५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। अन्य खेलाडीहरूमा आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १०-१० लाख, दुर्गेश गुप्तालाई ८ लाख, अर्जुन साउदलाई ५ लाख, दिनेश अधिकारीलाई २ लाख ७५ हजार, अभिषेक गौतमलाई २ लाख र विकास अग्रीलाई २ लाख रुपैयाँमा टिममा भित्र्याइएको छ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भने, “लुम्बिनी क्रिकेटको शान र नेपाली क्रिकेटलाई उज्यालो बनाउने शक्ति गौचनलाई कन्सल्टेन्ट कोच नियुक्त गर्न पाउनु र नेपाली टिमको कप्तानलाई मार्की खेलाडीको रूपमा पाउनु बुद्धभूमि लुम्बिनीको लागि खुशीको कुरा हो। हिजोको अक्सनमा हामी निकै भाग्यमानी रह्यौं र यसले हामीलाई अत्यन्त हर्षित तुल्याएको छ।”
उनले थप भने, “हामी लुम्बिनीलाई बुद्ध जन्मभूमिको साथै क्रिकेटको माध्यमबाट पनि अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक छाप छोड्न प्रयास गर्नेछौं। हामी सम्पूर्ण लुम्बिनीवासी तथा देशभित्र र बाहिर रहनुहुने सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई सल्लाह, सुझाव र समर्थनको लागि अनुरोध गर्दछौं।”
नेपाल प्रिमियर लिगको अक्सनमा कुल १४२ खेलाडी सर्टलिस्टमा परेका थिए। आगामी मंसिर १६ देखि काठमाडौंमा शुरु हुने यस लिगमा आठवटा टिम सहभागी हुनेछन्।