काभ्रे, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीमा बाढी र पहिरोबाट प्रभावित ४०१ परिवारलाई राहत वितरण गरेको छ। बाढी र डुबानका कारण प्रभावित व्यक्तिहरूलाई एनआरएनए केन्द्रको आह्वान र राष्ट्रिय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्री वितरण गरिएको हो।
स्थानीय तहसँग समन्वय गरेर वडा नम्बर १ का १२३ परिवार, वडा नम्बर २ का ५३ परिवार, वडा नम्बर ३ का २५ परिवार, र वडा नम्बर १२ का २०० परिवारलाई राहत वितरण गरिएको छ। यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान र पहिरो प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो, जसअनुसार एनसीसी यूकेले १५ लाख रुपैयाँ सहयोग गरेको थियो।
यसअघि हिजो दक्षिणकाली र सिस्नेरीमा पनि राहत वितरण गरिएको थियो। यस्तै बुधबार ललितपूरको ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी पूरा भएको छ। संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ। अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोलीमा उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिकाजका महिला डिआरसी इन्दिरा त्रिपाठी, मनार्थ सदस्य यदुराज पन्थी, आइसीसी सदस्यहरू हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोबिन्द गौतम, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल, संघका सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरे, र अधिकृत रुपक लामिछाने, जुनियर अधिकृत निरोज महर्जन लगायतका सदस्यहरू थिए।