नमोबुद्ध जात्रा आजदेखि

–

काभ्रे । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ।

भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र करुणाको किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ।

कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज राति दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिनुभयो । भोलि मङ्गलबार कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला तथा विशेष पूजाआजा हुनेछ।

किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार महासत्त्व एक दिन आफ्ना दाजुहरूसँग वनबिहारमा गएका थिए । गन्धमान पर्वतको जङ्गलमा पुगेका बेला उनीहरूले भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखे । भोक र अशक्तताका कारण बघिनी आफ्नै डमरुलाई समेत खानुपर्ने अवस्थामा पुगेकी थिइन्।

बघिनी र डमरुको पीडा देखेर द्रवित भएका महासत्त्वले दाजुहरूलाई अघि पठाएर आफू त्यहीँ बसे । बघिनीले सुरुमा उनको शरीर खान नसकेपछि राजकुमारले आफ्नो शरीरमा चोट पुर्‍याइ रगत बगाए । त्यसपछि आफ्नो शरीरको मासु अर्पण गरी बघिनी र पाँच डमरुको प्राण बचाएको धार्मिक विश्वास छ।

राजकुमारको देह त्यागपछि उनका अवशेष सङ्कलन गरी सोही स्थानमा स्तूप निर्माण गरिएको किंवदन्ती छ । यही घटनासँग जोडिएर उक्त स्थान ‘नमोबुद्ध’ नामले चिनिन थालेको मानिन्छ । राजकुमारको त्याग र करुणाको स्मरणमा हरेक वर्ष जात्रा लाग्ने परम्परा छ। यस अवसरमा भक्तजनले पूजाआजा, दीप प्रज्ज्वलन तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने गर्छन्।

मेला अवधिमा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जानकारी दिए । उनका अनुसार दर्शनार्थीको सहजता, यातायात व्यवस्थापन, सरसफाइ तथा शान्ति सुरक्षाका लागि नगरपालिका, नमोबुद्ध गुठी र स्थानीय सुरक्षा निकायबिच समन्वय गरी आवश्यक तयारी गरिएको छ । काभ्रेपलान्चोकसहित काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धादिङलगायत जिल्लाबाट हजारौँ बौद्ध धर्मावलम्बी तथा आन्तरिक पर्यटक जात्रामा सहभागी हुने अपेक्षा गरिएको छ।

रासस





Comments

comments

142479