हङकङको म्यानिङ्स स्टोरमा महिला ग्राहकमाथि दुर्व्यवहार: दुई सुरक्षाकर्मी बर्खास्त, पीडित महिलाले दिइन् प्रहरीमा उजुरी

पीडित महिलाले आफ्नो रसिद देखाएर आफू निर्दोष रहेको प्रमाणित गरेकी छिन्।

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० अक्टोबर। म्यानिङ्स स्टोरमा एक महिला ग्राहकलाई गलत तरिकाले चोरीको आरोप लगाइएपछि दुई सुरक्षाकर्मीले आफ्नो रोजगारी गुमाएका छन्। यो घटना सामाजिक सञ्जालमा भाइरल भएपछि कम्पनीले माफी मागेको छ र सम्बन्धित सुरक्षा कम्पनीसँगको सम्झौता रद्द गरेको छ।

घटनामा पीडित महिलालाई ८० हङकङ डलर मूल्यको सामान चोरेको आरोप लगाइएको थियो। मंगलबार चिम शा चुईस्थित म्यानिङ्स शाखामा एक महिलाले दुई बट्टा खोकीको सिरप किनेपछि उनलाई चोरीको आरोप लगाइएको थियो। स्व-चेकआउट काउन्टरमा भुक्तानी गरेर निस्किएपछि दुई सादा पोशाकका सुरक्षाकर्मीले उनलाई घाँटी समातेर स्टोरभित्र तानेका थिए।

पछि उनको बिल जाँच गरेर निर्दोष प्रमाणित भएपछि मात्र छाडिएको थियो। यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै म्यानिङ्सले पीडित ग्राहकसँग माफी मागेको छ।

कम्पनीले ती सुरक्षाकर्मीहरूलाई बर्खास्त गरेको र सुरक्षा कम्पनीसँगको सम्झौता रद्द गरेको जनाएको छ। साथै, भविष्यमा यस्ता घटनाहरू नदोहोरियोस् भन्नका लागि स्टोर सुरक्षा र सम्बन्धित प्रक्रियाहरूको समीक्षा गर्न एक कार्यदल गठन गरिएको छ।

यसैबीच, बिहीबार पीडित महिलाले दुई सुरक्षाकर्मीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकी छिन्। यस घटनाको अनुसन्धान अहिले जारी रहेको जनाइएको छ।





Comments

comments

126821