कोलोराडोमा दशैं–तिहार शुभकामना साँझ आयोजना हुदै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-

कोलोराडो, अमेरिका। नेपालीहरुको महान चाड विजया दशमी र शुभ दीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरुले एक विशेष शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गर्दैछन्। यो कार्यक्रम आगामी अक्टोबर २६ तारिख शनिबार, डेनभरस्थित याक एण्ड यती रेष्टुरेन्ट तथा इभेन्ट सेन्टरमा साँझ ५ बजेदेखि राति ९ बजेसम्म हुनेछ।

रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगालेका अनुसार, यो कार्यक्रम नेपालीहरुको साझा संस्था र अन्य स्थानीय संघ संस्थाहरुको सहभागितामा आयोजना गरिएको हो।

अध्यक्ष बगालेले सबै नेपाली तथा नेपालीभाषी समुदायलाई यस कार्यक्रममा सहभागी भई नेपाली भाषा, संस्कृति र पहिचान संरक्षणमा योगदान पुर्‍याउन आग्रह गरेका छन्। उनले यो कार्यक्रमलाई नेपालीहरु बीच एकता र सद्भावना बढाउने एक महत्वपूर्ण अवसरको रूपमा वर्णन गरेका छन्।

कार्यक्रममा लोकप्रिय गायक तथा संगीतकार क्विन्सी चेट, संझना पाण्डे र मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरूको प्रस्तुति रहनेछ। यसका साथै स्थानीय संघ संस्थाका प्रतिनिधि, गण्यमान्य व्यक्ति, व्यवसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार र नेपाल तथा नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरिकी, नेपाली र नेपालीभाषी समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको छ।

सबै नेपालीहरु एकै ठाउंमा भेला भई एक आपसमा भलाकुसारी गर्दै नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गर्न पाउने महत्वपूर्ण अवसर भएकोले आफ्ना साथी भाइ, इष्ट मित्र, छरछिमेक सबैलाई खबर गरी सहयोग गरिदिन हुन समेत अध्यक्ष बगालेले अनुरोध गरेका छन्।संस्थाको आयोजनामा कोलोराडोमा हरेक वर्ष दशैं-तिहार कार्यक्रमको आयोजना हुँदै आएको छ।

युवराज गुरुङ र अनिता गुरुङ यस वर्षको कार्यक्रमका मुख्य प्रायोजक रहेका छन्। आयोजकहरुले कार्यक्रमको सफलताको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।





Comments

comments

126960