बेलायतमा महाकवि देवकोटा जयन्ती भव्यरूपमा मनाइयो

लन्डन, २७ अक्टोबर । बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेद्वारा ११५औं महाकवि देवकोटा जयन्ती भव्यरूपमा मनाइएको छ। यस अवसरमा प्रवचन, गीतसङ्गीत प्रस्तुति, स्वागत सम्मान र कविता वाचन कार्यक्रमहरू आयोजना गरिएको थियो।

वेस्ट लन्डन एक्टन स्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अतिथिको आसनबाट समारोहलाई सम्बोधन गर्दै परिषद्का पदेन संरक्षक महामहिम कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्‍याउने काम महाकविले गरेको जुन हाम्रा लागि गर्वको इतिहास हो भन्नुभयो।

बेलायतमा नेपाली साहित्य विकास परिषद् युकेले यसरी लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिहरू गरेर नेपाली भाषा साहित्यको समृद्धिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको छ भन्नुहुँदै कार्यवाहक राजदूत दुवाडीले साहित्य, सङ्गीत र प्रवचनको मिश्रण रहेको आजको देवकोटा जन्मजयन्ती कार्यक्रमले भावी पुस्तालाई समेत प्रेरणा पुर्‍याउने कुरा चर्चा गर्नुभयो।

समारोहमा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल ओबिईले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका अमूल्य निधि हुन् जसले भाषा साहित्यको शिखर उच्च मात्र पारेनन्, शिक्षामन्त्री समेत भएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका थिए भन्नुभयो। डा. धितालले बेलायतमा नेपाली भाषा, साहित्य, कला जस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय छन् भन्नुभयो।

मन्तव्यका क्रममा प्रथम सचिव उद्धव न्यौपानेले भावुक हुँदै महाकवि देवकोटाको कारणले नेपाल विश्व साहित्य क्षेत्रका विशिष्ट साहित्यकारहरूसँग तुलना गर्न र अरू ठूला देशहरू माझ गनिने गरेको छ भन्नुभयो।

सभापतिको आसनबाट बोल्नुहुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद् युकेले आफ्नो स्थापना काल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधिहरू तीव्रगतिले अगाडि बढाउँदै आएको चर्चा गर्नुभयो।

बेलायतमा नेपाली भाषा साहित्यको विकासका लागि झण्डै तीन दशक अघि नेपाली साहित्य विकास परिषद् युकेको स्थापना गरेर यहाँ रहेका स्रष्टाहरूलाई सृजनशील र सक्रिय गराउन परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहको योगदान अतुलनीय रहेको छ भन्नुभयो।

साथै अध्यक्ष मल्लले महाकविको असीमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गनिने गरी उभिन सकेको चर्चा गर्नुभयो।

यसअघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र सम्वर्धनमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो। वरिष्ठ सहअध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको बताउनुभयो।

कार्यक्रम सञ्चालन गर्दै परिषद्का सह-अध्यक्ष साहित्यकार गोकुल भण्डारीले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका स्रष्टाहरूमा थप प्रेरणा र ऊर्जा मिल्ने गरेको चर्चा गर्नुभएको थियो।

राष्ट्रिय गान, महाकविको तस्बिरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल, डा. राघव धिताल, कवि ध्रुव केसीले नेपाली राजदूतावासबाट विशिष्ट आतिथ्य ग्रहण गर्नुहुने महामहिम कार्यवाहक राजदूत विपिन दुवाडी, प्रथम सचिव उद्धव न्यौपाने र सैनिक सहचारी क. अनुप शाह र श्रीमती प्रार्थना शाहलाई ब्याज, खादा र पुष्पगुच्छाले स्वागत सम्मान गर्नुभएको थियो।

समारोहमा सारङ्गी र मादलमा मङ्गल धुन तथा महाकविका रचनाहरूमा धुन र द्यौसीभैलो गीतहरू परिषद्का सल्लाहकार एवं कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष बसन्त रायक्षेत्री तथा वरिष्ठ कोषाध्यक्ष कलाकार एवं कवि मनोज अञ्जानद्वारा प्रस्तुत गरिएका थिए।

साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा कवितावाचन गर्ने कविहरूमा बसन्त रायक्षेत्री, ध्रुव केसी, उद्दव न्यौपाने, मनोज अञ्जान, गोकुल भण्डारी र कोमल मल्ल हुनुहुन्थ्यो।

सहभागिता र सहयोगका लागि आभार प्रकट गर्दै समारोहका सभापति अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबीई, डा. जनककुमारी धिताल, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, सहअध्यक्ष गोकुल भण्डारी, सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, सल्लाहकार मदन थापा, उपाध्यक्ष बसन्तराय क्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अञ्जान, पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, पूर्व कार्यकारिणी सदस्य कोहिनुर मल्ल र सीतू खरेललाई धन्यवाद ज्ञापन गर्नुभयो।





Comments

comments

127353