हङकङमा अदालतका न्यायाधीशमाथि चक्कु आक्रमण प्रयास, तीन घाइते..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ नोभेम्बर। काउलुन सिटी अदालतमा एक व्यक्तिले न्यायाधीश एडवर्ड वोङ चिङ-युमाथि चक्कुले आक्रमण गर्न खोज्दा तीन प्रहरी अधिकारी घाइते भएका छन्। सोमबार बिहान करिब १०:१५ बजे ३२ वर्षीय आरोपी लीले अदालत कक्षमा प्रवेश गरी न्यायाधीशमाथि आक्रमण गर्न खोजेका थिए।

-

लीले अदालत कक्षको सार्वजनिक दीर्घामा अचानक एउटा चक्कु निकालेर वोङमाथि आक्रमण गर्न खोजेका थिए। प्रहरीले आरोपी लीबाट ४ वटा धारिलो चक्कु बरामद गरेको छ र अदालत बाहिर उनको साइकल पनि जफत गरेको छ।

स्थानीय मिडियाका अनुसार, झडपमा तीन प्रहरी अधिकारी र आरोपी घाइते भएका छन्। एक प्रहरी अधिकारीको हातमा चोट लागेको छ भने अन्य दुईजनालाई खोस्रिएको र मर्किएको छ। उनीहरूलाई लीसँगै क्वीन एलिजाबेथ अस्पतालमा उपचारको लागि लगिएको छ।

आरोपी लीलाई पहिले न्यायाधीश वोङले यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर गरेका थिए र उनले सजाय भुक्तान गरिसकेका थिए।

न्याय विभागले यस घटनाको कडा निन्दा गर्दै कुनै पनि गैरकानूनी वा हिंसात्मक कार्यलाई सहन नगर्ने बताएको छ। विभागले जनतालाई कानुनको शासनको सम्मान गर्न आग्रह गरेको छ र न्यायपालिका विरुद्ध कुनै पनि तोडफोड वा कानुनी शासनमा क्षति पुर्‍याउने कार्यलाई सरकारले सहन नगर्ने जनाएको छ।





Comments

comments

127509