धरान। मङ्सिर ७ गते शुक्रबार साँझ पूर्वको चर्चित शहर धरानको धरान रङ्गशालाको मैदान निकै लामो समयपछि पूरै भरिएको थियो। एक दिन अघिदेखि नै धरानमा छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी लगायतका स्थानहरूबाट बाक्लो रूपमा दर्शकहरू आइपुगेका थिए। पूर्वका विभिन्न सहरहरूसँगै पश्चिमतिर बुटवल, पोखरा, चितवन सम्मका दर्शकहरू आएका थिए।
धरानका लोकप्रिय मेयर हर्क साम्पाङको चिण्डे डाँडामा बनाउन लागिएको सांस्कृतिक धरोहर सुम्निमा पारुहाङको प्रतिमा निर्माण अभियानका लागि आयोजित दोस्रो च्यारिटी कन्सर्ट “सुम्निमा पारुहाङ साँझ २०८१” मा अहिलेका उदीयमान युवापुस्ताका माझ अत्यन्तै चर्चित ब्यान्ड जोन एन्ड द लोकल्स र पूर्ण राई एन्ड दाजुभाइहरूसँगै अर्का लिजेन्ड लोकप्रिय ब्यान्ड सविन राई एन्ड फेरो एउटै स्टेजमा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुतिका लागि देखा पर्न लागेकाले यो बाक्लो भिड हुनु पनि स्वाभाविक नै थियो। साँझ केही अबेर सुरु भए पनि लगातार कलाकारहरूको प्रस्तुतिले पूर्ण मनोरञ्जन पाउन सफल भएको कन्सर्ट सफलतापूर्वक अबेर रातिसम्म करिब १५ हजारभन्दा बढी दर्शकहरूको ऐतिहासिक उपस्थितिका बीच सम्पन्न भयो।
कन्सर्टको सुरुवात धरानकी उदीयमान गायिका क्यामरिन माझी र उनको ब्यान्ड आरोहीजले भर्खरै दिवंगत धरानका गायक तथा संगीतकार नवराम राईलाई श्रद्धाञ्जली अर्पण गर्दै उनकै संगीत रहेको लोकप्रिय गीत ‘गुराँसको फेद मुनि’ गाएर गरेका थिए। त्यस्तै लोकप्रिय गायिका तथा पहिलो नेपाल स्टार विष्णु चेम्जोङले द्रव्य ब्यान्डसँगै आफ्ना लोकप्रिय गीतहरू ‘शान्ति लुकाउँ कहाँ’, ‘याद’ लगायतका गीतहरू गाएकी थिइन्।
युवापुस्ताका माझ चर्चित पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुति पनि यादगार रह्यो। उनले आफ्ना चर्चित गीतहरू ‘मनका कुरा’, ‘कालो सेतो’, ‘तिम्रो माया उन्नान्सय’ लगायतका चर्चित गीतहरू गाएर आफूसँगै दर्शकहरूलाई झुमाएका थिए। पूर्ण राईको प्रस्तुतिपछि आफ्नो लोकप्रिय अन्दाजमा देखा परेका अर्का लोकप्रिय ब्यान्ड जोन एण्ड द लोकल्सको प्रस्तुति पनि अविस्मरणीय रह्यो। ब्यान्डका गायक जोन चाम्लिङले ‘के गरूँ’, ‘भन मात्र’, ‘फर्कन्न होला’, ‘प्रश्न’, ‘मुटु देखिन’, ‘बादल सरी’ लगायतका गीतहरू गाएर हजारौँ दर्शकहरूमाझ आफ्नो अमिट छाप छोड्न सफल देखिन्थे।
कन्सर्टको अन्त्यमा स्टेजमा ओर्लेका अर्का लिजेण्ड सबिन राई एण्ड फ्यारोहको प्रस्तुतिले कन्सर्ट ऐतिहासिक बन्न सफल भयो। उनले ‘समर्पण मेरो’, ‘म संसार जित्ने आँट गर्दैछु’, ‘जाऊँ कि बसौं’, ‘तिमी नै हौ’, ‘कोमल त्यो तिम्रो बदनमा’ लगायतका चर्चित गीतहरू गाएका थिए भने अर्का गायक पूर्ण राईसँगै भर्खरै दिवंगत गायक तथा संगीतकार नवराम राईलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीद्वारा संगीतबद्ध गीत ‘गुराँसको फेदमुनि सम्झनाको छाया’ प्रस्तुत गरेका थिए। आफ्ना दुई चर्चित गायकहरू एकसाथ स्टेजमा गाउँदा दर्शकहरू थप रोमाञ्चित देखिएका थिए।
नेपाली पप रक संगीतका अहिलेका हटकेक ब्यान्डहरू जोन एन्ड द लोकल्स र पूर्ण राई एन्ड दाजुभाइहरूसँगै अर्का लिजेन्ड लोकप्रिय ब्यान्ड सबिन राई एन्ड फ्यारोहको एउटै स्टेजमा एकै दिनको कन्सर्टमा प्रस्तुति पहिलो पटक भएकोले दर्शकहरू निकै नै उत्साहित थिए।
कार्यक्रमको सञ्चालन इक्सा मादेन र महेश लिम्बुले गरेका थिए। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सम्पूर्ण कलाकारहरूलाई धन्यवादसहित सम्मान गरेका थिए। सम्पूर्ण कलाकारहरूले कन्सर्टमा आफ्नो निःशुल्क प्रस्तुति दिएका थिए।
सिल्भर इन्टरटेनमेन्टको निर्माण तथा व्यवस्थापनमा सुम्निमा पारुहाङ साँझ २०८० च्याप्टर २ आयोजना भएको थियो। केही समयपछि कार्यक्रमबाट उठेको सम्पूर्ण रकम सुम्निमा पारुहाङ प्रतिष्ठानमा बुझाइने कार्यक्रम संयोजक मीना सिंगकले बताउनुभयो। गत चैत १० मा आयोजित सुम्निमा पारुहाङ साँझ २०८० मा चौसठ्ठी लाख अठासी हजार नौ सय उन्नाइस रुपैयाँ रकम हस्तान्तरण गरिएको थियो।
थप फोटोहरु यहाँ हेर्नुहोला


