काठमाडौं । त्रिमूर्ति निकेतनले तीन प्रतिष्ठित साहित्यकारलाई एकैपटक सम्मान गर्ने घोषणा गरेको छ । यो वर्षको लेखनाथ काव्य पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार क्रमशः श्री रामबाबु सुवेदी, प्रा.डा. सावित्री कक्षपती र प्रा.डा. बेञ्जु शर्मालाई प्रदान गरिने भएको छ ।
६० वर्षभन्दा लामो समयदेखि नेपाली साहित्यको विकासमा योगदान पुर्याउँदै आएका श्री रामबाबु सुवेदीले शास्त्रीय छन्द कविताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई लेखनाथ काव्य पुरस्कारबाट सम्मानित गरिने भएको छ । यसैगरी, नाट्यसम्राट् बालकृष्ण समको जीवनी र कृतिहरूको गहन अध्ययन र विश्लेषण गर्नुहुने प्रा.डा. सावित्री कक्षपतीलाई बालकृष्ण सम पुरस्कार प्रदान गरिने छ ।
त्यसैगरी, नेपाली कविता र काव्य परम्पराको संरक्षण र सम्बर्द्धनमा उल्लेखनीय योगदान पुर्याउनुहुने प्रा.डा. बेञ्जु शर्मालाई देवकोटा काव्य पुरस्कारबाट सम्मानित गरिने छ । प्रत्येक पुरस्कारको राशि एक-एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।
त्रिमूर्ति निकेतनकी संस्थापक अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । यी तीनै विद्वान्को सम्मान समारोह आगामी दिनमा आयोजना गरिने जानकारी निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले दिनुभयो ।
यी तीनै साहित्यकारको सम्मानले नेपाली साहित्यको विकास र प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास गरिएको छ । साथै यस सम्मानले युवा पुस्तालाई पनि साहित्य सिर्जनातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।