पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारणको जिम्मा ‘हाम्रो खेलकुद’ ले लिएको छ ।
आयोजक सहारा क्लब पोखरा र अनलाइन पोर्टल हाम्रो खेलकुदबीच प्रत्यक्ष प्रसारणका लागि यो पहिलो सहकार्य हो । आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा ए डिभिजन क्लब, मोफसलका क्लब र विदेशी गरी १२ टोलीले भाग लिने छन् ।
मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले दोबिल्लामा सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमी संचालन गरेको छ । बर्सेनि प्रतियोगिता आयोजना गरेर क्लबले बचत रकम एकेडेमी संचालनमा खर्च गर्दै आएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्लेयर अफ दि म्याच लगायतको पुरस्कार सहारा युकेले प्रायोजन गर्नेछ । यस्तै, सहारा हङकङ र सहारा अस्ट्रेलियाले पनि प्रतियोगितामा सहयोग गर्नेछ । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो ।
राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत संघसंस्थाको सहयोग छ । गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर हुन् । विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए । आहा रारा पोखरा गोल्डकप देशकै पुरानोमध्ये एक र निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता हो।