न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ डिसेम्बर। हङकङको एमटीआर रेल कम्पनीले क्रिसमस इभ र नयाँ वर्षको पूर्वसन्ध्यामा रातभर रेल सेवा सञ्चालन गर्ने जनाएको छ। यसले उत्सवका अवसरमा यात्रुहरूलाई सहज यातायात सेवा प्रदान गर्ने बताएको छ।
कम्पनीका अनुसार डिसेम्बर २४ र ३१ मा दिउँसो ३ बजेदेखि आठवटा रेल लाइनमा थप रेल सेवाहरू सञ्चालन हुनेछन्। एयरपोर्ट एक्सप्रेस, डिज्नील्यान्ड रिसोर्ट लाइन र पूर्वी रेल लाइनको श्योङ शुई, लो वु र लोक मा चाउ खण्डबाहेक सबै लाइनमा रातभर सेवा उपलब्ध हुनेछ।
कम्पनीले क्रिसमस इभ र नयाँ वर्षको पूर्वसन्ध्यामा २,२०० अतिरिक्त रेल यात्रा सेवा प्रदान गर्ने जनाएको छ। साथै शुक्रबारदेखि जनवरी १ सम्म रेल सेवाहरू क्रमशः बढाइने बताइएको छ।