काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेकाबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थलीबाट आइतबार साँझ नियन्त्रणमा लिएको हो। भुसालले आफूले गरेको कार्यप्रति पश्चाताप व्यक्त गर्दै फेसबुक लाइभमार्फत क्षमायाचना गरेका थिए।
भुसालले प्रहरी कार्यालयको सिसिटिभी फुटेजबाट खिचेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको स्वीकार गरेका छन्। यस घटनापछि गृहमन्त्री रमेश लेखकले तत्काल छानबिनको आदेश दिएका थिए।
प्रहरी स्रोतका अनुसार, भुसाललाई थप अनुसन्धानका लागि पोखरा लगिने र उनीमाथि साइबर अपराध सम्बन्धी कानून अन्तर्गत कारबाही अगाडि बढाइने जनाइएको छ।