पोखरा । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै कास्की जिल्ला अदालतमा तीन घण्टा लामो बयान दिएका छन्। न्यायाधीश नितिज राईको इजलासमा उपस्थित भएका लामिछानेले आफूमाथि लगाइएका सबै आरोपहरूको खण्डन गरेका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका सात जना आरोपीहरू मध्ये लामिछानेको बयान लिइएको छ । यसअघि सोमबार र मंगलबार पूर्वडीआईजी तथा गोरखा मिडियाका सञ्चालक छविलाल जोशी र लिला पछाईंको बयान सकिएको थियो । क्रिसमस बिदाका कारण एक दिन रोकिएको बयान प्रक्रिया बिहीबार पुनः सुरु भएको थियो।
सहकारी ठगी प्रकरणमा अदालतले प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिएको छ । लामिछानेले आफू अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा संलग्न नरहेको बताएका छन्।