एचकेनेपाल डट कम –
काठमाडौँ, तिब्बतको सिगात्से क्षेत्रमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पको धक्का नेपालसहित भारतसम्म महसुस गरिएको छ। चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रविन्दु डिङ्ग्री काउन्टीमा रहेको थियो।
आज बिहान ६ बजेर ५१ मिनेटमा गएको यो भूकम्पको केन्द्रविन्दु २८.५० डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा १० किलोमिटर गहिराइमा रहेको थियो। यस भूकम्पले काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भागहरूमा त्रास फैलाएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रे र मकवानपुर जिल्लामा भूकम्पको धक्का प्रष्ट महसुस गरिएको थियो। सौभाग्यवश, हालसम्म कुनै ठूलो क्षति वा मानवीय हानि नोक्सानीको खबर प्राप्त भएको छैन।
विशेषज्ञहरूले नागरिकहरूलाई सम्भावित पराकम्पहरूप्रति सचेत रहन र आवश्यक सुरक्षा सावधानीहरू अपनाउन आग्रह गरेका छन्।