नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। शेर्पा दिवसको अवसरमा कोलोराडोमा एक समारोहमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने शेर्पाहरू सम्मानित भएका छन्। शेर्पा संघ कोलोराडो र गैरआवासीय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो।
सन् २०२२ जनवरी ५ मा कोलोराडो राज्यका गभर्नर जरेड पोलिसले एउटा ऐतिहासिक घोषणा गर्दै हरेक वर्षको जनवरी ५ को दिनलाई कोलोराडोमा शेर्पा दिवसको रूपमा आधिकारिक मान्यता दिएका थिए। यो विशेष घोषणा कोलोराडो राज्यमा बसोबास गर्ने सगरमाथा र अन्य हिमाल आरोही शेर्पा समुदायको उल्लेखनीय योगदान, उनीहरूको दृढता, साहस र प्रेरणादायी भूमिकालाई विश्वव्यापी रूपमा सम्मान गर्ने उद्देश्यले गरिएको थियो। यसै ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै शेर्पा संघ कोलोराडो र गैर आवासीय नेपाली संघ अमेरिकाको कोलोराडो च्याप्टरले एक विशेष औपचारिक कार्यक्रम आयोजना गरी शेर्पाहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा २४ पटक सगरमाथाको सफल आरोहण गर्ने ङिमा नुर्बु शेर्पा लगायत दावा फुटी शेर्पा (१ पटक), ङवाङ पासाङ शेर्पा (३ पटक), टाशी छिरिङ शेर्पा (५ पटक), ङवाङ वाङ्चु शेर्पा (५ पटक), लाक्पा शेर्पा (५ पटक), टाशी शेर्पा (१० पटक), निमा कर्मा शेर्पा (१० पटक), दानुरु शेर्पा (१६ पटक) र छिरिङ दोर्जे शेर्पा (१७ पटक) सगरमाथा आरोहीहरूको सहभागिता रहेको थियो।
हेल्पिङ ह्याण्ड नेपालका अध्यक्ष तथा कोलोराडो नेपाली भाषी समुदायका अभिभावक समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा एनआरएनए कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष आरसी पन्तको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गण्यमान्य, व्यवसायी, सञ्चारकर्मी, कलाकार तथा नेपाली भाषी बुवा आमा, दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा पर्यटन कार्यदल एनआरएनए एनसीसी यूएसएका शर्वेन्द्र थापा, उच्च उचाइका धावकद्वय मीरा राई, तेन्जी शेर्पा, क्यालिफोर्निया शेर्पा संघका अध्यक्ष लाक्पा शेर्पा, एनआरएनए एनसीसी यूएसए बीओडी निमा शेर्पालगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
नेपाली र अमेरिकी राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा शेर्पा संघ कोलोराडोका महासचिव निमा शेर्पाले स्वागत मन्तव्य राख्नुभएको थियो र शेर्पाहरूको सेब्रु नृत्यद्वारा अतिथिहरूलाई स्वागत गरिएको थियो। शेर्पा संघ कोलोराडोका सल्लाहकार तथा शेर्पा फाउन्डेसनका अध्यक्ष पेम्बा टेन्जिङ शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि लगायत एक दर्जनभन्दा बढी अतिथिहरूले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।
वक्ताहरूले मातृभूमि नेपाललाई विश्वसामु चिनाउने सम्पूर्ण नेपालीहरूको गौरव सगरमाथामा शेर्पा समुदायको अमूल्य योगदान रहेको भन्दै उनीहरूको दृढता, साहस र श्रमको कोलोराडोले उच्च मूल्याङ्कन गरेकोमा गभर्नर पोलिसलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा गत वर्ष मे १९ तारिखमा सगरमाथाको शिखरमा पेम्बा रिता शेर्पाले फहराएको एनआरएनए कोलोराडो च्याप्टरको लोगो शेर्पाहरूले च्याप्टरका अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गरेका थिए। त्यसैगरी जनवरी २२, २०२२ मा शेर्पा दिवस घोषणा भएको दिन गभर्नरसँग आरोहीहरूले खिचेको तस्बिरसहित अमेरिका र कोलोराडोको झण्डा र शेर्पा संघ कोलोराडोको लोगो कार्यक्रमका प्रमुख अतिथिमार्फत कोलोराडोका गभर्नर जेरेड पोलिस समक्ष पुर्याइदिन शेर्पाहरूले नारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
त्यसैगरी कार्यक्रममा शेर्पाहरूले कार्यक्रमका प्रमुख अतिथि नारायण श्रेष्ठमार्फत आगामी वर्षदेखि तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथा चुमेको मे २९ तारिखको दिनमा नै शेर्पा दिवस मनाउने वातावरण बनाइदिन गभर्नरसमक्ष सन्देश पठाएका छन्।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा शेर्पा संघ कोलोराडोका महासचिव तथा एनआरएनए एनसीसी यूएसए बीओडी निमा शेर्पाले नेपाली घरलाई सहयोगस्वरूप १२५० डलरको चेक हस्तान्तरण गर्दै सबैलाई यस महायज्ञमा सहभागी हुन अनुरोध गरेका थिए। कार्यक्रम एनआरएनए कोलोराडो च्याप्टरकी महिला सचिव संगीता लामा लामिछानेले सञ्चालन गरेकी थिइन्।