पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख रुपैयाँको धरौटी रकम तिरेर ८४ दिनपछि थुनामुक्त भएका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको आदेशले लामिछानेको रिहाईको बाटो खुलेको हो। उनको टोलीले तत्काल बैंक ग्यारेन्टी पेश गरेपछि उनलाई रिहा गरिएको छ।
यद्यपि, लामिछानेको कानुनी यात्रा अझै जारी छ। काठमाडौं लगायत अन्य क्षेत्रमा पनि उनी विरुद्ध मुद्दाहरू विचाराधीन रहेका छन्। कास्की अदालतको आदेशलाई सम्मान गर्दै, लामिछानेले भोलि स्वयं काठमाडौं अदालतमा उपस्थित हुने प्रतिबद्धता जनाएका छन्।
बिहीबार जिल्ला अदालत कास्कीको एकल इजलासले लामिछानेसहित सबै सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो।
लामिछानेको रिहाईपछि समर्थकहरूले खुसियाली मनाएका छन् भने विपक्षीहरूले यसलाई न्यायिक प्रक्रियाको रूपमा हेरेका छन्।
न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईंले भने धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने भएकी छन्।