काठमाडौं, कास्की जिल्ला अदालतले रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश नीतिज राईको इजलासमा भएको विस्तृत थुनछेक बहसपछि यो निर्णय आएको हो। यस मुद्दामा लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललगायत संलग्न छन्।
लामिछानेमाथि सहकारी ठगीको आरोप मात्र नभई, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर कसुरहरूमा समेत मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले कुल ४४ जना विरुद्ध मुद्दा दायर गरेको छ।
यद्यपि, कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि लामिछानेको तत्काल रिहाइ सम्भव देखिँदैन। काठमाडौं, रुपन्देही, पर्सा र चितवन जिल्लाहरूमा उनको विरुद्ध थप मुद्दाहरू दर्ता भएका छन्। प्रहरी स्रोतका अनुसार, कास्कीबाट रिहा भएपछि उनलाई सीधै काठमाडौं पठाइने योजना रहेको छ।
तीन जना प्रमुख आरोपीहरूले धरौटी तिरेर रिहाई भएका छन् । सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङले १ लाख रुपैयाँ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङले ५/५ लाख रुपैयाँको धरौटी बुझाएर छुटेका छन्।