हर्क साम्पाङले अख्तियारमा दिए कांग्रेस नेताविरूद्ध उजुरी..

काठमाडौं, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले भ्रष्टाचारको अभियोगमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन्।

धरान खानेपानी आयोजनामा भएको कथित २४ करोड रुपैयाँको अनियमितताको विषयलाई लिएर साम्पाङले विश्वकर्माविरुद्ध अख्तियारको इटहरी कार्यालयमा उजुरी दिएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “अख्तियारलाई एउटा नयाँ काम दिएँ। अब हेरौं कति इमान्दारीपूर्वक छानबिन हुन्छ।”

विश्वकर्माले एक टेलिभिजन अन्तर्वार्तामा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा १ अर्ब ५० करोड रुपैयाँको धरान खानेपानी आयोजना सञ्चालन गरेको दाबी गरेका थिए। तर उपमहानगरपालिकाको लेखा शाखाको विवरण अनुसार आयोजनामा जम्मा १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्र खर्च भएको देखिन्छ।

साम्पाङको उजुरीमा बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँको हिसाब माग गरिएको छ। उनले यो रकम कहाँ र कसरी खर्च भयो भन्ने स्पष्ट विवरण विश्वकर्माले पेश गर्नुपर्ने माग गरेका छन्। साथै उनले यस विषयमा छानबिन गर्न अख्तियारलाई दबाब दिन सर्वसाधारणलाई पनि आग्रह गरेका छन्।





Comments

comments

129093