हङकङमा फ्लूको जोखिम कायमै, फ्लूबाट १३७ को मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ फेब्रुअरी। स्वास्थ्य सुरक्षा केन्द्रले बिहीबार जारी गरेको विवरण अनुसार हङकङमा हिउँदे फ्लू मौसममा बुधबारसम्म फ्लूका कारण १३७ जनाको मृत्यु भएको छ। केन्द्रका अनुसार समग्र फ्लूको प्रकोप अझै उच्च रहेको छ।

केन्द्रको साप्ताहिक फ्लू एक्सप्रेस अनुसार १३७ मृत्यु मध्ये १२३ जना ६५ वर्ष माथिका वृद्धवृद्धा, १० जना ५० देखि ६४ वर्ष उमेर समूहका र ४ जना १८ देखि ४९ वर्ष उमेर समूहका रहेका छन्।

जनवरी २६ देखि फेब्रुअरी १ सम्म फ्लू भाइरसको लागि परीक्षण गरिएका श्वासप्रश्वास सम्बन्धी नमूनाहरूमध्ये ९.६७ प्रतिशत सकारात्मक पाइएको छ, जुन अघिल्लो हप्ताको १०.५४ प्रतिशत भन्दा केही कम हो।

यस हप्ता ५५ जना वयस्कहरूलाई गम्भीर फ्लू संक्रमणका कारण सघन उपचार कक्षमा भर्ना गरिएको र ३२ जनाको मृत्यु भएको छ। ५५ वयस्क बिरामीमध्ये ४४ जनाले खोप लगाएका थिएनन्।

यस हप्ताको पहिलो चार दिनमा, आइतबारदेखि बुधबारसम्म, वयस्कमा गम्भीर संक्रमणका ३२ मामला दर्ता भएका छन्, जसमध्ये १५ जनाको मृत्यु भएको छ।





Comments

comments

129090