ब्रिटिश गोर्खाको नागरिकता संशोधन विधेयक


सन्तोष थलङ –

फाल्गुन ६ गते २०८१ का दिन काठमाडौंको होटल बाराहीमा बीजीएनसीसीसी – युके/नेपालले सुशासन तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडासहित अन्य माननीयहरूसँग एक विशेष बैठक आयोजना गरी ब्रिटिश गोर्खाहरूको वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी संशोधन विधेयक दर्ता गराउनेबारे महत्वपूर्ण निर्णय गरेको छ।

कार्यक्रममा, ब्रिटिश गोर्खाहरुले बेलायती अङ्गीकृत नागरिकता प्राप्त गरेता पनि उनका वंशजको नेपाली नागरिकता निरन्तर रहन पर्ने र तिनका सन्ततिहरुले स्वतः वंशजको आधारमा नेपाली नागरिकता लिन पाउनुपर्ने कानूनी तथा संवैधानिक आधारहरुका विषयमा, संविधानविद् एवं वरिष्ठ अधिवक्ता प्रा. डा. चन्द्रकान्त ज्ञवालीले स्पष्ट पार्नुभएको थियो। साथै अधिवक्ता योगिता राईले तीन महले संशोधन विधेयक तयार गर्नुभएको थियो।

सन्तोष थलङ

बैठकले तत्काल अर्थात् फागुन ७ गतेभित्रै संशोधन विधेयक सम्बन्धित निकायमा दर्ता गराउन पूर्व खेलकुद मन्त्री माननीय डिल बहादुर लिम्बु र माननीय सुशीला श्रेष्ठलाई जिम्मा दिएको छ। संशोधन विधेयक दर्ता गरेपश्चात् अधिकतम सांसदहरूलाई सदनमा बहस चलाउन लगाउने तयारी गर्ने समेत सहमति भएको छ।

सभापति खतिवडाले संशोधन विधेयक पारित गर्न गृहमन्त्रीसँग पनि गम्भीर परामर्श गरेर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सहभागी सबै माननीयहरूले आ-आफ्नो पार्टी पङ्क्तिलाई यो विधेयक सम्बन्धी कन्भिन्स गराउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।

कार्यक्रममा माननीय अशोक राई, मा. सुरेश आले मगर, मा. जयन्ती राई, मा. डिल बहादुर लिम्बु, पूर्व मा. दिलमान पाख्रिन, प्रदेश सदस्य मा. आङबावु शेर्पा समेतको उपस्थिति रहेको थियो।

गोर्खा सत्याग्रह नेपालका पूर्व संयोजक एल.बि. घिसिङले संयोजन गरेको यस कार्यक्रममा, ब्रिटिश गोर्खाहरूको तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, बीजीएनसीसीसी-नेपालका सहसंयोजक फुर्वा गर्ज शेर्पा, रिटायर्ड मेजर प्रेम दोर्जे शेर्पा, रिटायर्ड क्याप्टेन हिमाल राई, सत्याग्रह नेपालका संयोजक रिटायर्ड लेफ्टिनेन्ट भिम तावा र पूर्व सिंगापुर प्रहरी प्रविन राईको सहभागिता रहेको थियो।

बिजिएनसिसिसि-युके/नेपालका नेपाल स्थित प्रतिनिधिहरुले उल्लेखित संशोधन विधेयक सम्बन्धि प्रष्ट पार्ने योजना अनुरुप दुवै सदनका सबै संघीय सांसदहरुलाई “ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति” (बिजिएनसिसिसि-युके/नेपाल) को अवधारणापत्र सहित ज्ञापनपत्र बुझाउने अभियान तय गरेका छन्।

अन्त्यमा, यो निर्णायक अभियानमा सम्पूर्ण ब्रिटिश गोर्खा तथा गोर्खा सन्ततिहरू स्वतःस्फूर्त रूपमा जोडिन जरुरी छ।

जय गोर्खा!!!





Comments

comments

129259