नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोमा सक्रिय नेपालीहरुको साझा संस्था नेपाली घरको १२औं साधारण सभा शनिबार एक समारोह बीच सम्पन्न भयो।
विशेषगरी संस्थाको विधानमा सदस्य, शुभचिन्तक तथा दाताहरुको राय सुझाव र समयको माग बमोजिम केही बुँदामा सामान्य परिमार्जन र केही थपघट गरी सबैलाई समेट्न सक्ने बनाउनका लागि बोलाइएको साधारण सभाले संस्थाको संशोधित विधान सर्वसम्मत तरिकाबाट पास गर्दै सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली घरका सल्लाहकार समाजसेवी टिका सिटौला तथा समाजसेवी डा. विजयराज शर्माबाट संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गानसँगै अगाडि बढाइएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक, उद्योगी, व्यवसायी, गणमान्य, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न कार्यक्रमको प्रथम सत्रमा संस्थाका उपाध्यक्ष गंगा चौलागाईले स्वागत मन्तव्यमार्फत कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने कोषाध्यक्ष राजु खनालले आर्थिक प्रतिवेदन र अध्यक्ष बसन्त लम्सालले संस्थाको प्रगति तथा भावी चुनौतीहरू सभासमक्ष प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित विभिन्न संस्थाका प्रतिनिधि, शुभचिन्तक, सल्लाहकार तथा अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए। संस्थाका महासचिव भोला कटुवालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष बसन्त लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रमको दोस्रो सत्रमा विशेषगरी संस्थाको विधान संशोधनको बारेमा छलफल भएको थियो। विशेषगरी नेपाली घरको संयोजनमा २०१८ मा आयोजित श्रीमद् भागवत सप्ताह महायज्ञको भावना, वर्तमान समयको माग र शुभचिन्तकहरुको सुझाव समेट्ने उद्देश्यले केही बुँदा सामान्य परिमार्जन र केही थपघट गरी सबै नेपालीभाषी समुदायको अपनत्व महसुस हुनेगरी संशोधन गरिएको नेपाली घरले बताएको छ।
यसरी संशोधित बुँदाहरूमा संस्थाको सदस्यताको दायरा फराकिलो पार्दै ट्रस्टी सदस्य, कर्पोरेट सदस्य, गैरनाफामूलक संस्था सदस्य अवधारणालाई समेटिएको छ। जसबाट व्यावसायिक तथा अन्य सामाजिक संस्थालाई जोडिन सहज हुने बताइएको छ।
त्यसैगरी व्यवस्थापन परामर्श समिति सल्लाहकार परिषद्को व्यवस्थाबाट समाजमा उल्लेख्य देन दिनुहुने सामाजिक र बौद्धिक व्यक्तित्वको समावेशले समाज सशक्त र एकाकार हुने तथा संस्थालाई उचित मार्गदर्शन हुने विश्वास लिइएको छ।
त्यस्तै ट्रस्टी परिषद्को व्यवस्थाबाट संस्थालाई जटिल र कानुनी समस्या समाधानको लागि सहयोग पुग्ने आशा गरिएको छ। संस्थाको विधानमा थपिएका मुख्य बुँदाहरू यिनै हुन्। अन्य सामान्य परिमार्जनमा सदस्यता शुल्क, कार्यसमितिका केही पदाधिकारी थप र वार्षिक कार्यक्रम थपघट गरिएका छन्।
नेपाली भाषा, कला र संस्कृति जीवन्त राखी हाम्रा भावी पुस्तालाई सिकाउन, हाम्रा चाडपर्व, विवाह, ब्रतबन्ध जस्ता कार्यक्रम सञ्चालन स्थल निर्माण गर्न तथा सम्पूर्ण नेपालीभाषी समुदायको पहिचान जोगाई प्रवर्धन गर्ने अभियानमा रहेको संस्था नेपाली घरको सक्रियता र सबै दाता र संघसंस्थाको सहयोगमा नेपाली सांस्कृतिक केन्द्र खरिद गरी पूर्णरूपमा सञ्चालनको अनुमति लिने प्रक्रिया अगाडि बढिरहेको छ।
सबै नेपालीभाषीहरूको आस्थाको केन्द्रबिन्दु नेपाली सांस्कृतिक केन्द्रलाई जोगाइराख्न सबैको साथ, सहयोग र मार्गदर्शन आवश्यक पर्ने भएकोले यस महायज्ञमा जोडिई यथासक्य सहयोग गर्न सबैलाई अनुरोध समेत गरिएको छ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बसन्त लम्सालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले नै संस्था यहाँसम्म आइपुगेकोले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको लागि सबैसँग अनुरोध गरेका थिए।
कार्यक्रमको दोस्रो सत्रमा उठेको सहभागीहरूको जिज्ञासालाई संस्थाका पूर्व तीन अध्यक्षहरू जगदीशचन्द्र ढकाल, लछुमन राना र योगराज गौतमले प्रष्ट्याउने प्रयास गरेका थिए भने उपाध्यक्ष चौलागाईंले सहजीकरण गरेका थिए।