दाङ । दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन ।
पछिल्लो पटक २०७८ साल फागुन २६ गतेदेखि श्रेष्ठ कन्स्ट्रक्सनलाई सडक निर्माणको जम्मेवारी दिइएको थियो । उक्त कम्पनीले पनि सडकका दायाँबायाँ ठुल्ठूला खाल्डा बनाएर काम छाडेको भन्दै चौतर्फी विरोध भएपछि नेपाल सरकारले उक्त ठेक्का सम्झौता तोडेको थियो ।
अहिले पुनः नेपाल सरकारकै लागतमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गरेको हो । आयोजनाको लागत रु तीन अर्ब १९ करोड रहेको छ ।
मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीका अनुसार यही फागुन ३० गतेसम्म आवेदन गर्ने अवधि छ ।