हङकङमा दिलमाया फाउन्डेसनको च्यारिटी संगीत कार्यक्रम हुने

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ फेब्रुअरी। दिलमाया मेमोरियल फाउन्डेसनले इस्टर बिदा र नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आगामी २० अप्रिलमा च्यारिटी संगीत कार्यक्रमको आयोजना गर्ने भएको छ। फाउन्डेसनका संस्थापक खुसी लिम्बूले जोर्डनस्थित चुम्लुङ हिममा आयोजित एक सूचना सत्रमा यस कार्यक्रमको घोषणा गरेका हुन्।

सूचना सत्रका क्रममा लिम्बूले आफ्नी आमा दिलमाया लिम्बूको स्मृतिमा सन् २०१६ मा ५ लाख नेपाली रुपैयाँको कोषबाट स्थापना गरिएको फाउन्डेसनको बारेमा जानकारी गराएका थिए।

साँगीतिक साँझ शंघाई स्ट्रिटस्थित ब्लू ओसन रेस्टुरेन्टमा आयोजना हुनेछ। कार्यक्रममा नेपाल र हङकङका चर्चित नेपाली कलाकारहरूले प्रस्तुति दिनेछन्। कार्यक्रमको सञ्चालन मिडिया व्यक्तित्व भूमिका फियाकले गर्नेछिन्। साथै प्रख्यात संगीतकार/गायक बादल लिम्बू र लोकप्रिय गायिकाहरू सुनिता थेगिम र दीपा सुहाङको विशेष प्रस्तुति रहनेछ।

यी कलाकारहरूका अतिरिक्त हङकङका थुप्रै नेपाली प्रतिभाहरू खुसी लिम्बू, कुसुम काम्बाङ, शक्तिम योङ्या र सुसन लिम्बूले पनि प्रस्तुति दिनेछन्। कलाकारहरूले विभिन्न प्रकारका साँगीतिक प्रस्तुतीहरु दिनेछन्।

कार्यक्रमबाट उठेको रकम ग्रामीण नेपालमा शिक्षा, स्वास्थ्य र समुदाय विकास पहलहरूलाई सहयोग गर्न स्थायी कोष स्थापना गर्न प्रयोग गरिनेछ। संस्थापक लिम्बूले फाउन्डेसनले पहिले पनि नेपालका ग्रामीण क्षेत्रहरूमा सामाजिक परियोजनाहरूमा योगदान गरेको बताए।





Comments

comments

129408