एक करोड बीमाको लागि आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ..

पोखरा। कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा रहेको शर्मा आईटी हबका सञ्चालक रमेश शर्मा लोहारले विमा रकम प्राप्त गर्ने उद्देश्यले आफ्नै पसलमा आगो लगाएको खुलासा भएको छ।

गत फागुन १६ गते साँझ करिब ७:०५ बजे शर्मा आईटी हबमा आगलागी भएको थियो। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दमकलको सहयोगमा करिब ४० मिनेटमा आगो नियन्त्रणमा लिएको थियो।

पसल सञ्चालक जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ घर भएका रमेशले भोलिपल्ट वडा प्रहरी कार्यालय बैदाममा ९४ लाख रुपैयाँ बराबरको क्षति भएको भनी निवेदन दिएका थिए। तर प्रहरीको अनुसन्धानबाट उनी आफैंले विमा रकम दाबी गर्ने योजनाका साथ पसलमा आगो लगाएको खुल्न आएको छ।

प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार आरोपीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। यस्तो गैरकानूनी कार्य गर्ने जोकोहीलाई कानून बमोजिम कारबाही गरिने उनले बताए।





Comments

comments

129660