ग्रेटर नोएडा, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजित ‘राष्ट्र शक्ति शिखर सम्मेलन’मा नेपालकी प्रतिभाशाली गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’बाट सम्मानित गरिएको छ। संगीत क्षेत्रमा उनले नेपाल र भारतमा पुर्याएको उत्कृष्ट योगदानका लागि यो सम्मान प्रदान गरिएको हो।
सम्पर्क क्रान्ति परिवारद्वारा आयोजित यस भव्य कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूलाई ‘राष्ट्रशक्ति शिरोमणि सम्मान’, ‘राष्ट्र तेजस्विनी सम्मान’, ‘राष्ट्र यशस्विनी सम्मान’ लगायत अन्य प्रतिष्ठित सम्मानहरू प्रदान गरियो। कार्यक्रममा महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा र स्वावलम्बन जस्ता विषयहरूमा गम्भीर छलफलसमेत भएको थियो।
नेपालबाट सम्मान ग्रहण गर्न उपस्थित मिलन नेवारले आफ्नो सम्मानलाई नेपाली संगीत र संस्कृतिको प्रतिनिधित्व गर्ने अवसरको रूपमा लिएकी छिन्। उनले यो सम्मान आफ्नो लागि मात्र नभएर सम्पूर्ण नेपालकै लागि भएको महसुस गरेको बताउँदै सबै नेपाली र नेपाली संगीत क्षेत्रका महिलाहरूको सम्मान भएको हिसाबले लिएको भन्दै धन्यवाद दिइन्। उनले यो सम्मानले नेपाली महिलाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउने काम गरेकोमा खुसी व्यक्त गरिन्। साथै, यो सम्मान आफ्नो सांगीतिक जीवनको एउटा महत्वपूर्ण उपलब्धि भएकोमा गर्व लागेको बताइन्।
यस अवसरमा भारतका विभिन्न राज्यबाट आएका प्रतिभाशाली महिलाहरूले आफ्ना अनुभव र सफलताका कथाहरू साझा गरिन्। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई अत्यन्त रमाइलो बनाएको थियो।
नेपालकी मिलन नेवार यसरी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुनु नेपालका लागि गर्वको विषय हो। उनी नेपाली संगीतलाई विश्वमै पहिचान दिलाउन अगाडि बढिरहेकी छिन्। मिलन नेवार हाल नेपाली संगीतमा अत्यन्त व्यस्त र लोकप्रिय गायिकाहरू मध्ये अग्रपङ्क्तिमा रहेकी गायिका हुन्।
उनले नेपाली भाषा बाहेक अन्य दस भन्दा बढी भाषामा सयौँ गीतमा आवाज दिएकी छिन्। उनले दर्जनौँ साङ्गीतिक अवार्डहरूसहित विभिन्न सम्मान प्राप्त गरेकी छिन् भने दर्जनौँ गीतहरू चर्चित रहेका छन्।
- भूमिराज राई