ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एकमात्र साझा संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो (GBCC) को कार्यभार नयाँ पुस्तालाई हस्तान्तरण गरिएको छ।

संस्थाका सदस्यहरूले सर्वसम्मत रूपमा चुडा बरालको अध्यक्षतामा चयन गरेको नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई शनिबार एक कार्यक्रमबीच संस्थाको कार्यभार हस्तान्तरण गरिएको हो। यसरी सर्वसम्मत चयन भएका संस्थाका अन्य पदाधिकारीहरूमा क्रमशः उपाध्यक्ष भिम राई, सचिव मणि राई, कोषाध्यक्ष पूर्ण शिवकोटी, खेलकुद संयोजक ओम ढुंगेल, संस्कृति संयोजक बिर्ख गुरुङ, शिक्षा संयोजक दुर्गा निरौला र प्रेस संयोजक हेम गिरी रहेका छन्।

सन् २०१० मा कोलोराडोमा स्थापना भएको ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको सन् २०१५ देखि यता नेतृत्व परिवर्तन भएको थिएन। पदभार हस्तान्तरण कार्यक्रम संस्थाका उपाध्यक्ष भिम राईको स्वागत मन्तव्यसँगै सुरु भएको थियो। कार्यक्रममा उपस्थित संस्थाका शुभचिन्तक तथा सल्लाहकार केदार खतिवडा, किरात कल्चरल सोसाइटी अफ कोलोराडोका अध्यक्ष सह सुब्बा, कोलोराडोका नेपालीभाषी भुटानी समुदायका अगुवा भुवानी न्यौपाने र श्याम खनाल लगायतले संस्थाको नवगठित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिनुका साथै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएका थिए।

यस संस्थाले विशेष गरी कोलोराडोमा बसोबास गर्दै आएका नेपालीभाषी भुटानीलाई नेपाली भाषा, साहित्य, संगीत, संस्कार, संस्कृति, रीतिरिवाजलाई प्राथमिकतामा राखी कार्यक्रमहरुको आयोजना गर्दै आएको छ। नेपाली कला संस्कृति, हाम्रा चाडपर्व, नेपाली भाषा हाम्रो समुदायको पहिचान हो। यसलाई जोगाई प्रवर्धन गर्दै भावी पुस्तालाई सिकाई उनीहरुलाई हाम्रो संस्कार संस्कृति हस्तान्तरण गर्ने कार्ययोजना रहेको नवगठित कार्यसमितिका अध्यक्ष चुडा बरालले बताएका छन्।

साथै बरालले समुदायका सबैको यस संस्थालाई साथ सहयोग प्राप्त भए बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा, विद्यार्थी र युवा जमातलाई लक्षित गरेर विभिन्न खेलकुद, शिक्षासम्बन्धी गोष्ठी साथै अन्य सामाजिक र सांगीतिक कार्यक्रम सञ्चालन गर्ने संस्थाको कार्ययोजना रहेको जानकारी गराएका छन्।

नवगठित कार्यसमितिका सचिव मणि राईले सञ्चालन गरेको कार्यक्रममा कोलोराडोमा रहेका अन्य सङ्घ संस्थाहरूको प्रतिनिधिहरू र संस्थाका शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम निवर्तमान अध्यक्ष सोम बरालको सभापतित्वमा सम्पन्न भएको प्रेस संयोजक हेम गिरीले बताएका छन्।

कार्यक्रमको अन्त्यमा संस्थाका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति सोम बरालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले नै संस्था यहाँसम्म आइपुगेकोले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको लागि सबैसँग अनुरोध गरेका छन्।





Comments

comments

129720