विदेशमा रंगीन होली.. (फोटो)

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडो निवासी नेपालीभाषीले बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र असत्यमाथि सत्यको विजय भएको खुसियालीमा मनाइने होली एकआपसमा रङ्ग लगाई हर्षोल्लासका साथ मनाएका छन्।

नेपालीहरूको साझा संस्था नेपाली घरको आयोजनामा शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म नेपाली सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा होलीको शुभकामना साटासाट गर्दै आपसमा रङ्ग लगाई उनीहरूले होली मनाएका हुन्।

कार्यक्रमको शुरुमा पण्डित जीवन बराल गुरुले विधिवत् पूजा सम्पन्न गरी होलीको महत्व प्रकाश पार्नुभएको थियो। त्यसपछि उहाँले सबैलाई प्रसाद लगाइदिएपछि एक-आपसमा रङ्ग लगाउने कार्यक्रम शुरु भएको थियो। कार्यक्रममा कोलोराडोमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, गण्यमान्य, व्यवसायी, कलाकार, पत्रकार, नेपाल र नेपालीको संस्कृतिलाई मनपराउने स्थानीय तथा नेपाली बा-आमा, दाजुभाई-दिदीबहिनीको बाक्लो उपस्थिति रहेको थियो।

नेपाली सांस्कृतिक केन्द्रको प्राङ्गणमा जम्मा भएका नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरू हातमा विभिन्न थरीका रङ लिएर आ-आफ्ना दौँतरीहरूलाई लगाउन व्यस्त देखिन्थे। होली गीतको तालमा नाच्दै होली खेलिरहेको देख्दा विश्वको जुनसुकै कुनामा भए पनि नेपालीहरू आफ्नो संस्कृति र चाडपर्वको जगेर्ना गर्न कम्मर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो।

कार्यक्रममा नेपाली घरका अध्यक्ष बसन्त लम्सालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै हाम्रो भाषा संस्कृति संरक्षण तथा बालबालिका र स्थानीयलाई यसको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको बताए। उनले हाम्रो आस्थाको केन्द्र आफ्नै भवनमा कार्यक्रम आयोजना गर्न पाउँदा गौरवको महसुस भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। विधिवत् पूजा र टीकापछि प्रसाद खाँदै होली खेल्न सुरु गरिएको थियो।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुरस्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी पारेर सिँगारी गाडिएको चीरमा आजा पूजा गरेपछि विधिवत रूपमा होली सुरु भएको मानिन्छ। नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन र मधेसमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ। होली नेपालसँगै भारत, पाकिस्तान, जापान, थाइल्यान्ड, क्यानडा, अस्ट्रेलिया, इङ्ल्यान्ड, अमेरिका लगायतका देशहरूमा भव्यताका साथ मनाइन्छ।

दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा बस्न लगाउँदा आगोले होलिका आफै भष्म भएको, तर भक्त प्रह्लादलाई केही नभएकोले त्यही बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलिका मारिएको खुसियालीमा होली खेल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ।

त्यसैगरी द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्वारा पठाइएकी राक्षसी पूतनाले आफ्नो स्तनमा विष लगाएर कृष्णलाई दूध चुसाउँदा कृष्ण मर्नुको सट्टा पूतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा ब्रजवासीले फागु मनाउन थालेको जनश्रुति छ।

यी र यस्ता हिन्दु संस्कृति तथा परम्परा अँगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्यमाथि सत्यको विजय भएको खुसियालीमा यो पर्व मनाइने चलन रहेको छ।





Comments

comments

129815