भक्तपुरमा शेयर छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर , चैत्र २ गते भक्तपुर जगातिमा भक्तपुरका लगानीकर्ताहरुबीच “शेयर छलफल तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

भक्तपुर जगातिमा स्मार्ट इन्टरनेशनल एकेडेमीद्वारा आयोजित “शेयर छलफल तथा अन्तरक्रिया कार्यक्रम”मा प्रमुख अतिथि तथा नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले भक्तपुरका लगानीकर्ताहरुलाई प्रशिक्षण दिँदै नयाँ लगानीकर्ताहरूले आफूले दुःख, पसिना बगाएर कमाएको पैसा अरूको लहैलहैमा लागेर, कम्पनीको अवस्था नबुझी शेयर बजारमा प्रवेश गर्दा धेरै नोक्सान हुन सक्ने बताए। पूर्व अध्यक्ष रौनियारले शेयरको शिक्षा, ज्ञान तथा धेरै अध्ययन गरेर मार्केटमा लाग्दा कमाउन सक्ने बताए। उहाँले शेयरको सुधारको पक्ष तथा विकृतिको विरोधमा निरन्तर आवाज उठाउने बताए।

त्यस्तै कार्यक्रमका अतिथि विगत २५ वर्षदेखि शेयर मार्केटमा लागेका भक्तपुरका अनुभवी लगानीकर्ता शंकर शाक्यले नयाँ लगानीकर्ताहरूले शेयर बजारमा अध्ययन गरेर जोखिम नभएको राम्रो कम्पनीमा लगानी गर्दा नडुब्ने बताए।

बिहान साढे एघार बजे सुरु भएको कार्यक्रममा स्मार्ट इन्टरनेशनल एकेडेमीका म्यानेजिङ डाइरेक्टर रमेश खावाजुले आफूले वि.सं. २०७२ सालमा शेयर बजारको बारेमा नबुझी र अरूको लहैलहैमा लागेर शेयर बजारमा सुरुमा प्रवेश गर्दा धेरै नोक्सान भएको, पछि धेरै अध्ययन, मेहनत र धैर्यका साथ निरन्तर लाग्दा नोक्सानलाई नाफामा बदलेको बताए।

म्यानेजिङ डाइरेक्टर खावाजुले भक्तपुरका नयाँ लगानीकर्ताहरू आफू जस्तै नफसून् भन्ने उद्देश्यले भक्तपुरमा शेयर तालिम केन्द्र खोलेको तथा भक्तपुरका लगानीकर्ताहरूबीच निरन्तर भेटघाट, एक आपसमा समन्वय गर्न “भक्तपुरमा शेयर छलफल तथा अन्तरक्रिया कार्यक्रम”को आयोजना गरेको बताए। कार्यक्रममा प्रमुख अतिथि छोटेलाल रौनियारले शेयर तालिम लिएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।





Comments

comments

129818