तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

एचकेनेपाल डट कम –
तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो।

गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलास्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले सोमबार यसको नतिजा घोषणा गरेको हो । सो–सम्बन्धी प्रमाणपत्र यसवर्ष जुनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ।

ओलम्पियन दीपक विष्ट कुनै पनि नेपालीले हालसम्म ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन् । ७ डान प्राप्त गरिसकेपछि ८ डानको लागि ७ वर्ष, ९ डानको लागि ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्नेसमेत उनले जनाए।

यो उपाधि प्राप्त गर्नु अत्यन्तै कठिन छ । दुई दशकअघि देखि गुरुङसँग परिचित रहेको बताउने उनले यसले तेक्वान्दोप्रति समर्पित सम्पूर्ण खेलाडी र देशकै शिर उचो बनाएको बताए । यो उपाधि प्राप्त गर्ने व्यक्तिलाई संसारभर अत्यन्तै सम्मानजनकरूपमा ग्राण्डमास्टरका नामले सम्बोधन गरिन्छ।

नेप्लिज तेक्वान्दो महासंघका अध्यक्ष दीपक खड्काले समेत तुलसी गुरुङबाहेक अरू कसैले ९ डान प्राप्त गरेको जानकारी नभएको बताए । ४०/४५ वर्ष निरन्तर तेक्वान्दोमै क्रियाशील रहेर शारीरिकरूपमा तन्दुरुस्त हुनुपर्ने भएकाले पनि यो प्राप्त गर्नु अत्यन्तै कठिन रहेको उनको भनाइ थियो।

१७ वर्षको उमेरदेखि तेक्वान्दोमा सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न सफल भएकोमा खुसी व्यक्त गरे । ६३ वर्षका उनी हङकङमा बसोबासरत छन् । उनी हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत रहिसकेका छन् । हङकङको खेलकुद इतिहासमा यो स्थान हासिल गर्ने गुरुङ पहिलो नेपाली हुन् । पूर्वब्रिटिस गोर्खा सैनिक उनी सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेता हुन्।

सन् १९८३ मा उनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागिता जनाएका थिए । ब्रिटिस सैनिक खेलाडीबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि उनलाई हङकङ ओपनमा भिड्ने अवसर जुरेको थियो । सन् १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पियनसिप र १९९५ थाइल्याण्डमा आयोजित इष्ट एसियन गेम्समा गुरुङ अफिसियल रेफ्री थिए । त्यसो त नेपाली खेलकुदमा समेत उनले इतिहास रचेका छन्।

२०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आर्ट्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए । त्यतिबेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई गुरुङले क्वाटरफाइनलमा पराजित गरेका थिए । सेनाबाट अवकाश लिइसकेपछि पनि उनी निरन्तर तेक्वान्दोमै सक्रिय रहे । सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ दर्ता गरेका थिए । त्यसयता उनको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन्।





Comments

comments

130144