काठमाडौं, नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलो पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री ओलीलाई बिदाइ गरे। यो भ्रमणलाई दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने ऐतिहासिक अवसरको रूपमा हेरिएको छ।
चैत २० गतेदेखि सुरु हुने औपचारिक भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका समकक्षी प्रधानमन्त्री सिनावातसँग महत्वपूर्ण द्विपक्षीय वार्ता गर्नुका साथै संयुक्त प्रेस ब्रिफिङमा सहभागी हुनेछन्। त्यसपछि थाइल्याण्डका नरेशसँगको भेटवार्तासँगै एकदिने औपचारिक भ्रमण समापन हुनेछ।
भ्रमणको दोस्रो दिन चैत २१ गते प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रमुख व्यवसायीहरूसँग भेटघाट गर्नुका साथै एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्नेछन्। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूको सम्मानमा आयोजित औपचारिक रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।
चैत २२ गते हुने बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो भ्रमणले नेपाल र थाइल्याण्डबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।