सान्टो डोमिंगो, डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिंगोमा रहेको जेट सेट नाइटक्लबको छत भत्किँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। मंगलबार बिहान भएको यस दुर्घटनामा प्रख्यात मेरेंग्यू गायक रुबी पेरेजको प्रस्तुतिको क्रममा अचानक बिजुली गएपछि छत भत्किएको थियो।
घटनास्थलमा करिब ४०० जना उद्धारकर्मी परिचालित छन्। मोन्टे क्रिस्टी नगरपालिकाका गभर्नर नेल्सी क्रुज पनि दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको राष्ट्रपति लुइस अबिनाडरले जानकारी दिए। आपतकालीन संचालन केन्द्रका निर्देशक जुआन मानुएल मेन्डेजका अनुसार भग्नावशेषमा फसेका मानिसहरूको गुहार सुनिएको र उद्धार कार्य जारी रहेको छ।
क्लबमा करिब ५०० देखि १००० जना मानिसहरू रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति अबिनाडरले घटनाको नजिकबाट अनुगमन गरिरहेको र जीवन बचाउन सक्दो प्रयास भइरहेको बताएका छन्।
समाचार एजेन्सीहरु