एचकेनेपाल डट कम –
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम १५०औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छन् । यो नियुक्तिले नेपालको अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य क्षेत्रमा प्रतिनिधित्व बढेको छ।
सांसद गौतमको यो नियुक्ति चार वर्षका लागि हुनेछ, जुन सन् २०२९ को मार्चसम्म रहनेछ । आईपीयू महासभाको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्य समितिमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय गरिएको थियो।
यस समितिमा विश्वका विभिन्न प्रभावशाली राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी छन् । यसमा भारत, मेक्सिको, संयुक्त अरब इमिरेट्स, केन्या, नेदरल्याण्ड्स, स्विटजरल्यान्ड, अल्जेरिया, आयरल्यान्ड, फ्रान्स, नामिबिया, उज्बेकिस्तान र जिम्बाब्वे जस्ता देशका उच्च तहका प्रतिनिधिहरू समावेश छन्।