रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको नव निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोमा सक्रिय नेपालीभाषी समुदायको जेठो संस्था रकी माउन्टेन्स फ्रेन्ड्स अफ नेपालको हालै निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरणका साथै संस्थाको २४औं साधारणसभा सम्पन्न भएको छ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आइतबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा संस्थाको हालै सम्पन्न निर्वाचनबाट सर्वसम्मत निर्वाचित पदाधिकारीहरूको नाम घोषणा, पदभार हस्तान्तरण तथा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा अध्यक्ष अर्जुन बगालेले सभासमक्ष संस्थाको प्रगति विवरण तथा कोषाध्यक्ष गणेश पोखरेलले आय-व्ययको विवरण पेश गरेका थिए भने सभामा उपस्थित सदस्यहरूले सर्वसम्मत तरिकाबाट दुवै प्रतिवेदन पास गरेका थिए।

पूर्व प्राध्यापक तथा समाजसेवी डा. विजयराज शर्माको प्रमुख आतिथ्यता तथा एनआरएनए एनसीसीका उपाध्यक्ष भानु खरेल, रकी माउन्टेन्स फ्रेन्ड्स अफ नेपालका सल्लाहकार तथा आईएनएलएस बीओटी अध्यक्ष पदम विश्वकर्मा र रकी माउन्टेन्स फ्रेन्ड्स अफ नेपालका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक नविन दत्तको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिहरूले संस्थाको नवनिर्वाचित पदाधिकारीहरूलाई खादा, टीका लगाइदिई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। त्यसैगरी समारोहमा निर्वाचन समितिका संयोजक नविन दत्तले निर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै उनीहरूलाई सामूहिक रूपमा सफेद खुवाएका थिए।

संस्थाको हालै सम्पन्न निर्वाचनबाट सर्वसम्मत रूपमा निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा महिला कोर्डिनेटरमा क्रमशः आकृति राई अधिकारी, हरिबहादुर गुरुङ, तेजप्रसाद ढकाल, सुनिता अधिकारी र रमिता तुलाधर रहेका छन् भने बोर्ड अफ डिरेक्टरहरूमा सन्तोष विश्वकर्मा र विष्णु विक रहेका छन्।

साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीलाई पदभार हस्तान्तरण गरी दुई सत्रमा सञ्चालित कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, गण्यमान्य, पत्रकार तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष अर्जुन बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष विकास त्रिपाठीले उपस्थित सबैलाई स्वागत गरेका थिए । महासचिव आकृति राई अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना तथा पुरानो कार्यसमितिलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा वक्ताहरूले सबै संघसंस्थासँग हातेमालो गर्दै अगाडि बढ्न, दोस्रो पुस्ता लक्षित कार्यक्रम अगाडि बढाउन सुझाव दिएका छन् । त्यसैगरी एनआरएनए एनसीसीका उपाध्यक्ष भानु खरेलले एनआरएनए एनसीसीको गतिविधिबारे प्रकाश पारेका थिए ।

दोस्रो सत्रको कार्यक्रम नवनिर्वाचित महासचिव तेजप्रसाद ढकालले सञ्चालन गरेका थिए। कार्यभार हस्तान्तरणपश्चात् आजैदेखि निवर्तमान भएका संस्थाका अध्यक्ष अर्जुन बगालेले आफ्नो दुईवर्षे कार्यकालको अवधिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए भने आजैदेखि पदभार सम्हालेकी नवनिर्वाचित अध्यक्ष आकृति राई अधिकारीले सबैसँग साथ र सहयोगका लागि अनुरोध गरेकी थिइन्।

संस्थाले कोलोराडोमा नेपाली भाषा र संस्कृति संरक्षणका लागि दशैं, नयाँ वर्ष लगायत विभिन्न चाडपर्वहरूमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। त्यसैगरी संस्थाले नेपाल र नेपालीको पहिचानका लागि नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितका लागि स्थानीय सरकारसँग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरूलाई सहयोग आवश्यक परेमा अन्य संघसंस्थाहरूसँग हातेमालो गर्दै सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आइरहेको छ।





Comments

comments

130513