बेलायतका नेपाली साहित्यकारहरूले यसरी मनाए नयाँ वर्ष २०८२..

कोमल मल्ल –
लन्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् (यूके) ले नयाँ वर्ष २०८२ को आगमनको अवसरमा अप्रिल १३ तारिखका दिन स्वागत सम्मान, सिर्जना वाचन र गीत-संगीतको कार्यक्रम गरी उत्साहपूर्वक नेपाली नयाँ वर्ष मनायो।

वेष्ट लन्डन स्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहमा बेलायतका लागि नवनियुक्त राजदूत श्री चन्द्रकुमार घिमिरेलाई परिषद्को पदेन संरक्षकको रूपमा स्वागत गरियो। परिषदका अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, प्रमुख वरिष्ठ सल्लाहकार डा. राघव धिताल ओबीई, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी लगायत कवि साहित्यकारहरूले ब्याज, खादा, पुष्पगुच्छा र प्रशस्तिपत्र पढेर अभिनन्दन गरे।

उक्त स्वागत सम्मान समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक नेपाली राजदूत चन्द्रकुमार घिमिरेले विदेशमा नेपाली पहिचान जीवन्त राख्न नेपाली भाषा, साहित्य र संस्कृति जस्ता मूलभूत कुराहरूलाई संरक्षण र सम्वर्धन गर्न नेपाली साहित्य विकास परिषद् युके ले निरन्तर गरेका गतिविधिहरू अत्यन्त सराहनीय छन् भन्नुभयो। समारोहमा परिषद्को संरक्षकत्व ग्रहण गर्दै राजदूत घिमिरेले नेपाल र नेपालीको पहिचान समृद्धि हुने परिषद्का यस्ता सिर्जनात्मक कार्यहरूमा राजदूतावासको सहयोग र सहभागिता निरन्तर रहिरहने विश्वास व्यक्त गर्नुभयो। राजदूत घिमिरेले सबै स्रष्टाहरूमा आउँदै गरेको नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नेपाली दूतावास र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभयो।

समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार तथा यस संस्थाका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल ओबीईले बेलायतमा नेपाली भाषा, साहित्य, कला जस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय छन् भन्नुभयो। सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्का पदेन संरक्षक महामहिम राजदूत कवि चन्द्रकुमार घिमिरेको स्वागत सम्मान गर्न पाउँदा हर्षले गदगद् भएको र नेपाली साहित्य विकास परिषद् युकेले हाम्रो नेपाली पहिचान बोकेको नयाँ वर्ष मनाएर हामीले हाम्रो गाउँघर, चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका छौँ भन्दै परिषद्का विविध क्रियाकलापहरूको बारेमा चर्चा गर्नुभयो।

त्यसैगरी परिषदका पूर्व अध्यक्ष बिबिसी नेपाली सेवाका पूर्व सञ्चालक कवि खगेन्द्र नेपालीले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् युकेको स्थापना हुँदा तत्कालीन महामहिम राजदूत सूर्यप्रसाद श्रेष्ठको सल्लाह, सहमति र सहभागिताबाट नै बेलायतस्थित नेपाली राजदूत परिषद्को पदेन संरक्षक रहने परिपाटी भएको र त्यसपछि पाल्नुभएका सबै राजदूतज्यूहरूबाट नेपाली साहित्यको श्रीवृद्धि गर्ने कार्यमा परिषद्मा गरिमामय सहभागिता र सहयोग रहँदै आएको चर्चा गर्नुभयो। पूर्व अध्यक्ष नेपालीले हामी यसरी नै सिर्जनाले सिञ्चेर परिषद्को स्थापनाकालदेखि नै आफ्नो माटोको सुवासना बोकेको नेपाली नयाँ वर्ष मनाउँदै आइरहेका छौँ र परिषद्मा राजदूतावासको प्रत्यक्ष संलग्नताले विशेष महत्व राख्दछ भन्नुभयो।

यस अघि स्वागत मन्तव्य राख्नुहुँदै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यस संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै परिषद्का महासचिव कवि डा. सुधा श्रेष्ठले बेलायतको भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै लगेर नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद्ले साहित्यिक गतिविधिहरू गर्दै आएको चर्चा गर्नुभयो।

राष्ट्रिय गान र मङ्गल धुनबाट आरम्भ गरिएको समारोहमा अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्को नवौँ पदेन संरक्षकको रूपमा राजदूत चन्द्रकुमार घिमिरेलाई स्वागत सम्मान अभिनन्दन-पत्र पढेर अभिनन्दन गर्नुभएको थियो।

यसै समारोहमा भर्खरै दिवङ्गत हुनुभएका परिषद्का संस्थापनाकालदेखिका आजीवन सदस्य तथा कार्यसमितिका सदस्य समाजसेवी हरि के.सी.को स्मरणमा चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।

समारोहमा सारङ्गी र मादलमा मङ्गल धुन परिषद्का सल्लाहकार तथा कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का उपाध्यक्ष बसन्त रायक्षेत्री तथा वरिष्ठ कोषाध्यक्ष कलाकार एवं कवि मनोज अन्जानबाट प्रस्तुत गरिएको थियो।

अन्तमा सहअध्यक्ष रेशम अर्यालले उपस्थित अतिथि सबैमा धन्यवाद ज्ञापन गर्नुभयो।

कविता वाचनमा भाग लिने कविहरूमा वसन्त रायक्षेत्री, वासु सापकोटा, घनबहादुर थापा, रेशम अर्याल, डा. सुधा श्रेष्ठ, अनुप अधिकारी, हरिसिंह थापा, मनोज अन्जान, विरेन्द्र कुँवर र कोमल मल्ल हुनुहुन्थ्यो।

अन्तमा जलपान सहयोगका लागि आभार प्रकट गर्दै समारोहका सभापति अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल OBE, डा. जनककुमारी धिताल, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, डा. सुधा श्रेष्ठ, रेशम अर्याल तथा विशेष सहयोगका लागि सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, सल्लाहकार मदन थापा, उपाध्यक्ष बसन्तराय क्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान, ज्ञानेन्द्र राउत, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्ल र सीतु खरेललाई धन्यवाद ज्ञापन गर्नुभयो।





Comments

comments

130516