बुटवल, बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक २९ वर्षीया युवतीमाथि शनिबार बिहान गोली प्रहार भएको छ। बुद्धनगरमा होटल सञ्चालन गर्दै आएकी टीका विष्ट क्षेत्रीमाथि भारतीय नागरिक सितारे आलमले गोली प्रहार गरी फरार भएका छन्।
विवाह गर्न पटक-पटक दबाब दिँदै आएका आलमले बिहान ९ बजेतिर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आई घरको ढोका खोलेर क्षेत्रीको ढाडमा गोली प्रहार गरेका हुन्। गम्भीर घाइते क्षेत्रीलाई थप उपचारका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा रिफर गरिएको छ।
प्रहरीका अनुसार आरोपित आलमले यसअघि पनि क्षेत्रीलाई अपहरण गर्ने प्रयास गरेका थिए। प्रहरीले आरोपितको खोजी कार्य तीव्र पारेको छ।