नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने भएको छ। कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नेपाली कला संस्कृतिको जगेर्ना गर्न तथा समाजमा सद्भाव कायम राख्न विशेष शुभकामना आदान प्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो।
शुभकामना साँझ कार्यक्रम आगामी अप्रिल २६ तारिख शनिबारका साँझ ५ बजेदेखि राति ९ बजेसम्म वेस्टमिन्स्टर सहरमा आयोजना हुन लागेको हो। लोकप्रिय गायक विमल डाँगीको विशेष अतिथ्यता तथा सञ्जना पाण्डे लगायतका स्थानीय सुपरिचित तथा चर्चित कलाकारहरूको सहभागितामा विशेष मनोरञ्जनात्मक तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिने रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगालेले बताएका छन्।
त्यसैगरी सोही कार्यक्रममा कोलोराडोमा नेपालीभाषी समुदायको सबैभन्दा जेठो संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको इतिहास संगृहीत “रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको विकास र विरासत” नामक पुस्तकको लोकार्पण गरिनुको साथै यहाँ बसेर विगत लामो समयदेखि नेपाली भाषी समुदायको विकासका लागि निरन्तर योगदान दिँदै आएका ३ जना समाजसेवीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बगालेले बताएका छन्।
प्रवासमा नेपाली भाषा र संस्कृतिको पहिचान गराउने जस्तो महत्वपूर्ण कार्यक्रममा यहाँ रहेका सक्रिय संघसंस्थाका पदाधिकारी, गणमान्य, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपाली भाषी बाआमा दाजुभाइ दिदीबहिनीहरू सबैलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाई सफलतापूर्वक सम्पन्न पार्न सहयोग गरिदिनुहुन संस्थाकी नवनिर्वाचित अध्यक्ष आकृति राई अधिकारीले हार्दिक अपिल गरेकी छिन्।